सुनसरीको दुहबीमा फिदा हुसेनको गोली हानि हत्या
सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एकाबिहानै एक जनाको गोली हानी हत्या गरिएको छ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले दिएको जानकारी अनुसार स्थानीयवासी ५४ वर्षीय फिदा हुसेनको गोली हानी हत्या भएको हो ।
जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार भएको हो ।
घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ । अहिले हुसेनका आफन्त र समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताएका छन् ।
मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ हुन् । केही दिन अगाडि सुनसरीको रामनगर भुटाहाका खुर्सीद अन्सारीको समेत भारतबाट आएको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्