सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अर्कैको बच्चा जन्माएको भन्दै दुर्गालाई घर निकाला

अर्कैको बच्चालाई जन्म दिएको भन्दै दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरिदिएको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उनका श्रीमान् र परिवारले घर निकाला गरेको हो ।

गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताएकी छिन् । तीन वर्षपहिले मागी विवाह गरेका हेमराजले दुर्गालाई विवाह गरेको आठ महीनाबाटै यातना दिन सुरु गरेका थिए ।

‘तीन वर्षपहिले मागेर बिहे भएको हो, बिहे गरेको आठ महिनाबाटै पिट्न शुरु गर्नुभयो,’ पीडित दुर्गाले भनेकी छिन–‘गर्भवती भएको समयमा पनि पिट्ने, यातना दिने गरिरहनु हुन्थ्यो ।’

सुत्केरीलाई घर निकाला गरेर हेमराजले सम्बन्ध विच्छेदका लागि देउखुरीस्थित जिल्ला अदालतमा मुद्दा दायर गरेको पीडित दुर्गाले बताइन् । सुत्केरी अवस्थामा स्याहारसुसार पाउने बेलामा दुर्गाले न्याय खोज्दै न्यायिक निकायमा पुग्नुपर्ने बाध्यता छ ।

रोल्पा त्रिवेणी गाउँपालिका जुगार माइत भएकी दुर्गालाई अहिले माइती पक्षले सहयोग गर्दै आएका छन् । केही दिनपहिले न्याय माग्दै दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएकी थिइन् । जिल्ला अदालतमा विचाराधीन मुद्दामा प्रहरीले केही गर्न नमिल्ने भन्दै फर्काइदिएको पीडितले बताएकी छिन् ।

घोराहीमा मंगलबार पत्रकारसँग कुरा गर्दै पीडित दुर्गाले आफूलाई न्याय दिलाई दिन जिल्लास्थित सम्पूर्ण मानवअधिकारवादी, महिला अधिकारकर्मी, सामाजिक सङ्घसंस्था, प्रहरी, प्रशासन र पत्रकारसँग आग्रह गरेकी छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS