सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हुसेनको हत्या आशंकामा ६ भारतीयसहित ७ नियन्त्रणमा

सुनसरीको दुहबीका इँटा व्यवसायी मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले ६ जना भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरेको छ । दुहबी नगरपालिका–९ स्थित जयबाबा इँटा उद्योग नजिकैको क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीका अनुसार उनीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको हो । पक्राउ परेका सातमध्ये ६ जना भारतीय रहेको र उनीहरु त्यही इँटा उद्योगका कामदार भएको प्रहरीले जनाएको छ ।

‘उनीहरुलाई घटनाबारे सोधपुछका लागि पक्राउ गरिएको हो’, सुवेदीले अगाडि भने, ’अहिले अनुसन्धान भइरहेकाले अन्यलाई पनि नियन्त्रणमा लिन्छौँ, घटनाको सुक्ष्म अध्ययन भइरहेकाले अहिले नै हत्यामा संलग्नबारे केही भन्न सकिँदैन ।’

बुधबार बिहान गोली हानी हत्या गरिएका फिदा खान त्यही इँटा उद्योगका म्यानेजर पदमा कार्यरत थिए । प्रहरीका अनुसार अनुसन्धान भइरहेकाले पक्राउ परेका सबै व्यक्तिको नाम गोप्य राखिएको छ । फिदा हुसेनको हत्यापछि दुहबी बजार तनावग्रस्त भएको छ ।

बारम्बार विवादमा आईरहेको प्रहरीले यो घटनामा भने प्रारम्भदेखि नै सावधानी अपनाएको छ । दिउँसै प्रहरी प्रधान कार्यालयबाट निर्देशन भएअनुरुप नेपाल प्रहरीको गुप्तचर निकाय विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को दुई वटा टोली सुनसरी पुगिसकेको छ ।

अपराध अनुसन्धान विभाग मातहत रहेको बिशेष ब्यूरोबाट वरिष्ठ उपरीक्षक (एसएसपी) मसउँद आलम खाँको नेतृत्वमा टोली सुनसरी गएको छ भने सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिराबहादुर पाण्डे र अर्का एक जना प्रहरी निरीक्षकको गरी दुई जनाको टोली सुनसरी पुगेको छ ।

उनीहरुले घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई प्राविधिकसहित थप आवश्यक सहयोग गर्नेछन् । एसएसपी खाँ एसपी हुँदा सुनसरीमै बसेका थिए । भारतीय प्रति आतंकवाद सेलसँग मिल्दोजुल्दो शैलीमा शिक्षक खुर्शिद आलमको हत्या भएपछि सशंकित स्थानीय प्रहरी बुधबार बिहानै अर्को हत्याको घटना सार्वजनिक भएपछि झस्किएको थियो ।

तर, खुर्शिद घटनाको मोडस अपरान्डी (अपराध शैली) हुसेन हत्यासँग मिल्दैन । अहिलेसम्म खुर्शिदको जस्तो हत्या गर्नु पर्ने उद्देश्य पनि नदेखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् । हुसेनको लेनदेन सम्बन्धी विवादबारे समेत प्रहरीले जानकारी पाएको छ, जसलाई प्रमाणले पुष्टि गर्ने प्रयासमा प्रहरी अधिकारीहरु जुटेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्