पुलमा ढुकेर बसेकोले हुसेनलाई गोली हानेको खुलासा
सधैँझैं बुधबार बिहान मोहम्मद फिदा हुसेन र उनकी श्रीमती आशा मर्निङ वाकमा निस्किएका थिए । झिसमिसेमै निस्किएका उनीहरु करिब साढे ६ बजे सुनसरी मोरङ सिंचाई आयोजनाको शाखा नहरको बाटो हुँदै सुनसरी दुहबी नगरपालिका– ९ स्थित रानीगाउँ नजिकै पुगेका थिए ।
गाउँकै छेउमा जय बाबा इँटा उद्योग छ । नेपाल विद्युत प्राधिकरणको स्थायी जागिरे हुसेन उद्योगका सुपरभाइजर समेत हुन् । इँटा बनाउने काम चलिरहेको उद्योगमा पुगेपछि सँगै रहेकी श्रीमती आशालाई घर फर्काएर हुसेन उद्योगतर्फ लागे ।
उद्योग पुग्न सुनसरी मोरङ सिंचाई आयोजनाको शाखा नहरको पुल पार गर्दै जानुपथ्र्यो । पुलछेउबाट श्रीमतीलाई घर फर्काएर उद्योगतर्फ लागेका हुसेन गन्तब्य पुग्न नपाउँदै गोलिको सिकार भए र मारिए ।
पुल कट्नेबित्तिकै उनीमाथि गोली प्रहार भयो । प्रत्यक्षदर्शीसमेत रहेकी श्रीमती आशा खातुन आफूहरु जाँदा पुलमा एक्सरसाइज गर्दै (ढुकेर) बसेको व्यक्तिले गोली हानेर भागेको बताउँछिन् ।
‘मलाई घर फर्किनू भनेर उहाँ काम छ भन्दै भट्टा जानुभयो’, पति वियोगमा विछिप्त बनेकी आशाले भनिन्–‘म घर फर्कँदै गर्दा ठूलो आवाज आयो । फर्केर हेर्दा उहाँ ढल्नुभएको थियो ।’
गोली चलेपछि फर्केर हेर्दा पातलो जीउको व्यक्ति भाग्दै गरेको देखेको आशाले बताइन् । ‘एक्ससाइज गर्दै गरेको मान्छे चिनिनँ’, उनले भनिन्, ‘पुल छेउमा मोटरसाइकल रोकेको थियो ।’ हुसेन ढलेको देखेपछि गुहार माग्दै आशा घटनास्थल पुग्दा उक्त व्यक्ति मोटरसाइकलबाट नहरको बाटो हुँदै उत्तरतर्फ भागेको उनले बताइन् ।
सुनसरीका प्रहरीले घटनामा संलग्न भएको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । उनीहरुमाथि विस्तृत अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरु सोही इट्टाभट्टामा काम गर्ने कर्मचारी र सुरक्षा गार्ड रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई सोधपुछका लागी मात्रै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हुसेनको हत्या भएपछि स्थानीयबासीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीमार्फत प्रधानमन्त्री समक्ष पाँचबुदे ज्ञापनपत्र बुझाउँदै आफन्त तथा सुनसरीका केही सांसदहरुले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।
२४ घण्टाभित्र घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउनुपर्ने, मृतक फिदा हुसैनलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, हुसेनको ठाउँमा छोरालाई तुरन्त जागिर लगाइदिनुपर्ने माग पनि गरेका छन् ।
प्रहरी प्रधान कार्यालयले भने घटनाको अनुसन्धानका लागि विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोको टोली सुनसरी पठाएको छ । अपराध अनुसन्धान विभाग मातहत रहेको बिशेष ब्यूरोबाट वरिष्ठ उपरीक्षक (एसएसपी) मसउँद आलम खाँको नेतृत्वको टोली र सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिराबहादुर पाण्डे र अर्का एक जना प्रहरी निरीक्षकको गरी दुई जनाको टोली सुनसरी पुगेको छ ।
उनीहरुले घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई प्राविधिकसहित थप आवश्यक सहयोग गर्नेछन् । यसअघि भारतीय प्रति आतंकवाद सेलसँग मिल्दोजुल्दो शैलीमा शिक्षक खुर्शिद आलमको हत्या भएपछि सशंकित भएका स्थानीय प्रहरी बुधबार बिहानै अर्को हत्याको घटना सार्वजनिक भएपछि झस्किएको थियो ।
तर, खुर्शिद घटनाको मोडस अपरान्डी (अपराध शैली) हुसेन हत्यासँग मिल्दैन । अहिलेसम्म खुर्शिदको जस्तो हत्या गर्नु पर्ने उद्देश्य पनि नदेखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् । हुसेनको लेनदेन सम्बन्धी विवादबारे समेत प्रहरीले जानकारी पाएको छ, जसलाई प्रमाणले पुष्टि गर्ने प्रयासमा प्रहरी अधिकारीहरु जुटेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्