सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मन्त्रीहरुलाई काम नगरेको भन्दै थर्काए प्रधानमन्त्रीले

शक्तिशाली सरकारले जनमुखी काम नगरेको भन्दै व्यापक आलोचना भएपछी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मन्त्रीहरुलाई बोलाएर सातो लिएका छन् । काम गर्ने पुरानो शैली यथावत रहेको भन्दै प्रधानमन्त्री ओलीले ढिलासुस्ती स्वीकार्य नभएको र तुरुन्तै परिणाम आउनेगरी काम गर्न निर्देशन दिएका छन् ।

वजेट कार्यान्वयनबारे भएको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सरकार गठनको नौ महिनासम्म पनि मन्त्रीको काम गर्ने पुरानै बानी नहटेको भन्दै असन्तुष्टि जनाएका हुन् । सिंहदरवारभित्रै कार्यशैली सुधार नभए स्थानीय निकायसम्म जनमुखी काम कसरी प्रदान गर्ने ? भन्दै ओली मन्त्री र सचिवहरुसँग कड्किएको बैठकमा सहभागी एक सचिवले बताएका छन् ।

मन्त्री र सचिवहरु सहभागी भएको बैठकमा वलीले भनेका छन्–‘एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यालयबाट अर्को कार्यालयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी अघि बढ्न सकिन्छ ?’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै ढिलासुस्ती भएको भए पनि भन्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । ‘ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्नुहोस् । त्यस्ता ढिलासुस्तीका कारणलाई निरुपण गर्नेतर्फ मेरो ध्यान जान्छ’ उनले भनेका छन–‘तर, अब कहीँ पनि ढिलासुस्ती स्वीकार्य छैन ।’

विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ भनेर उम्कन नपाउने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनको निजी सचिवालयले भनेको छ–‘आफ्ना कमजोरीहरुलाई तर्कको लेपनले टाल्न नखोज्नुहोस् भन्नु भएको छ ।’

बैठकमा प्रधानमन्त्री ओलीले केही तत्वहरु लोकतन्त्रको जरा काट्न उद्धृत रहेको टिप्पणी गरेका छन् । ‘हामीले लोकतन्त्रको अनुभूति तल्लो स्तरका जनतालाई गराउने गरी काम गर्नुपर्छ’ उनले भनेका छन्–‘जनतामा आशावादिता जगाउने गरी काम गर्नुपर्छ । जनता निराश भए देशका लागि घातक हुन्छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले मन्त्रालयका सचिवलाई अगाडि राखेर मन्त्रीको परीक्षा लिएको भन्दै केही मन्त्रीले गुनासो गरेका छन् । मन्त्रीको कार्य क्षमताबारे सोध्नुपर्ने भएमा सचिवसँग नराखी बेग्लै राखिनुपर्ने मन्त्रीको गुनासो छ ।

प्रधानमन्त्रीसँगको छलफलपछि एक मन्त्रीको सचिवाल टीमका सदस्यले भने–‘यो त प्रधानमन्त्रीज्युबाट सचिवलाई गार्ड राखेर मन्त्रीको परीक्षा लिएजस्तै भयो । यस्तो गरेपछि सचिवले मन्त्रीलाई कसरी टेर्छन् ?’

फेसबुकबाट कमेन्ट गर्नुहोस्