समयमा उद्दारको अनुमति नदिँदा पर्यटकका मृत्यु
गृहमन्त्रालयका कर्मचारीले समयमै उद्धारका लागि अनुमति नदिँदा बुधबार डोल्पामा एक पर्यटकको मृत्यु भएको छ । पासपोर्ट नम्बर एचके १२२४७३ भएका क्यानेडियन नागरिक र्यान्डल फेरिस बेकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरकारले अनुमति दिन ढिला गरेपछि डोल्पाका प्रमुख जिल्ला अधिकारी र डीएसपीको समन्वयमा बुधबार दिउँसो २ः३० बजे सिम्रिक एयर पोखराबाट उद्धारका लागि घटनास्थल पुगेको थियो । तर सिम्रिक एयर उद्धारमा पुग्नुभन्दा पहिले नै पर्यटकको मृत्यु भइसकेको सिम्रिक एयरका अप्रेशन डाइरेक्टर क्याप्टेन एन्डीले जानकारी दिएका छन् ।
क्याप्टेन एन्डीका अनुसार उद्धारमा सरकारले ढिला गरी अनुमति दिँदा विदेशी पर्यटकको मृत्यु भएको यो तेस्रो पटक हो । उद्धारका लागि अथक प्रयास गरेपनि पर्यटकलाई बचाउन नसक्दा पीडा महसुस भएको उनले बताएका छन् । एक घण्टाअघि उद्धारका लागि पुग्न सकेको भए उनलाई बचाउन सकिने चिकित्सकले बताएका छन् ।
माथिल्लो डोल्पामा घुम्न गएका क्यानेडियन नागरिकको अचानक मृत्यु भएको प्रहरीको भनाइ छ । उनको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने चार हजार तीन सय १० मिटर उचाइमा रहेको शे–गुम्बामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अवदेश विष्टले जानकारी दिएका छन् । उनको गुम्बामै मृत्यु भएको विष्टको भनाइ छ ।
डीएसपी विष्टका अनुसार उनको शव साँझ पोखरा पुर्याइएको छ । प्रहरीका अनुसार उनी कहिले र कुन उदेश्यले नेपाल आएका हुन भन्नेबारे आधिकारीक जानकारी आइसकेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्