सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कोरियामा ‘स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्दै दुतावास

दक्षिण कोरियास्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थापन तथा स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्ने भएको भएको छ । मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिएका छन् ।

कार्यक्रममा सिनियर कन्सल्ट्यान्ट मनोविद् डा केदारबहादुर रायमाझीले विशेष प्रस्तुति, प्रशिक्षण तथा परामर्श प्रदान गर्ने बताईएको छ । यही मङ्सिर १५ र १६ गते नेपाली कामदारको बाहुल्य रहेको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिनेछ । मङ्सिर १५ गते छनान र १६ गते मक्को हुन्डाई औद्योगिक क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

छनान राजधानी सियोलबाट दुई घन्टाको दूरीमा छ । मक्को हुण्डाई कम्पनीमा करीब २०० नेपाली कार्यरत रहेको श्रम काउन्सिलर बास्तोलाले जानकारी दिएका छन् । सो स्थानमा हुने कार्यक्रममा झन्डै चार सय नेपाली सहभागी हुने अनुमान गरिएको छ ।

कार्यक्रममा विज्ञसँग परामर्श, छलफल तथा सुझाव लिने, कार्यअवधि समाप्तीसँगै स्वेच्छिक रुपमा स्वदेश फिर्ताका लागि उत्प्रेरित गर्न तथा स्वदेश फर्केका कामदारलाई नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधाका बारेमा जानकारी गराइने पनि उनले बताएका छन् ।

सो क्रममा कामदारको गुनासोलाई यथासम्भव कार्यस्थलमै गई सुनुवाई र सम्बद्ध पक्षसँग बहस पैरवी गरिने दूतावासले जनाएको छ । आफूलाई पायक पर्ने स्थानमा हुने सो कार्यक्रममा सहभागिताका लागि दूतावासले अनुरोध गरेको छ ।

कार्यक्रममा सहभागीलाई ‘कमाउ, सीप सिक र स्वदेश फर्की उद्यमी बनी रमाऔँ’ सन्देशसहितको परामर्श प्रदान गरिने काउन्सिलर बास्तोलाले जानकारी दिएका छन् । मानसिक तनाव, कामको चाप, खानपिन, हावापानी लगायत कारणबाट कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको उनले बताएका छन् ।

कोरियामा समयावधि सकिएपछि अवैधानिक बसोबास गर्दाका बखत आइपर्ने समस्याका बारेमा नेपालीलाई जानकारी गराइनेछ, उनले भने–“सीप सिकी नेपाल फर्केर उद्यमशीलता विकास गरी स्वदेशको समृद्धिमा योगदान गर्न कार्यक्रमले प्रेरित गर्नेछ ।”

आकर्षक गन्तव्यका रुपमा रहेको कोरियामा पछिल्लो समय विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ । सन् २००७ देखि हालसम्म विभिन्न कारणबाट १६० नेपालीको मृत्यु भइसकेको छ । आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा नेपालीले ज्यान गुमाउँदै आएका छन् ।

रोजगार अनुमति प्रणाली इपिएसमार्फत हालसम्म करीब ५८ हजार नेपाली कामको खोजीमा कोरिया पुगेका छन् । अहिले करीब ४० हजार नेपाली विभिन्न कामका सिलसिलामा कोरियामा रहेको दूतावासले जनाएको छ ।

तीमध्ये ३६ हजारले कोरिया भाषा परीक्षा पास गरी काम गर्दै आएका छन् भने चार हजार नेपाली विभिन्न पेसा व्यवासाय गरी कोरियामा बसोबास गर्दै आएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS