देशमा सरकार छ र ? छ भने कहाँ छ ?: नेपाली कांग्रेस
केपी ओली नेतृत्वमा रहेको सरकारको ९ महिने अवधीको समिक्षा गर्दै प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकार पुर्णत असफल सावित भएको निष्कर्श निकालेको छ । कांग्रेसले सरकार गठन भएको ९ महिनासम्म सरकार रहेको अनुभूति नै नभएको निष्कर्श निकाल्दै देशमा कहाँ छ सरकार ? भन्दै प्रश्न उठाएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ । ९ महिना पुगेको यो घडीमा “नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?” भनेर छोटो तर कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ ।’
शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण असफल भएको र सुशासनको नारा पनि नमच्चिने पिङको सय झट्का मात्र भएको कांग्रेसको निष्कर्श छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा २ जनाको हत्या भएको, सर्लाही र रोल्पामा गरी कांग्रेसका दुई कार्यकर्ताको हत्या भएको र निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको पहिचान गर्न नसकेको भन्दै शर्माले नागरिकलाई सुरक्षा नै दिन नसक्ने सरकार सफल भयो भन्ने कुनै आधार नभएको बताएका थिए ।
निर्मला पन्तको बुबाआमा डेढ सातादेखि धर्नामा रहेको भन्दै शर्माले प्रधानमन्त्रीलाई सोधे–‘सम्माननीय प्रधानमन्त्रीज्यू यहाँको राम राज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भइसकेको हो ?’ सरकार अहिले कुनै पनि विषयमा पास नभएको भन्दै प्रवक्ता शर्माले ३ महिनापछि आउने वार्षिक परीक्षाको शुभकामना दिएका छन् ।
प्रवक्ता शर्माले सरकार आफै संघीयतालाई असफल पार्न लागेको आरोपसमेत लगाएका छन् । नेपाली कांग्रेसले मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने सरकारको तयारी तत्कालै सूचना पाउने नागरिकको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत भएको बताएको छ । कांग्रेसले यसप्रति विमति प्रकट गर्दै २४ घण्टामै सार्वजनिक गर्ने प्रवन्धका लागि आग्रह गरेको छ ।
विकासका ठूला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मर्म प्रतिकुल रहेको भन्दै कांग्रेसले यसको पनि विरोध जनाएको छ । कांग्रेसले अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही सातायता निरन्तर गिरावट आएको भन्दै स्वचिलत मूल्य प्रणालीअनुसार तेलको भाउ घटाउन माग गरेको छ ।
नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको वास्तविकता रहस्यमय बनेको भन्दै कांग्रेसले यसमा गम्भीर घोटालाको आशंका गरेको छ । शर्माले भनेका छन्–‘हाइ फ्लाई एक्ससँग जहाज खरिद गरिएको हो कि नियोजित रुपले नयाँ दर्ता गरिएको सो कम्पनीले एयरबससँग खरिद गरेर नेपाल एयर लाइन्सलाई भाडामा उपलव्ध गराएको हो ? सार्वजनिक खरीद ऐनको पालना भएको छ कि छैन ? गम्भीर घोटालाको आशंकामाथि गहिरो छानविन गर्न कांग्रेस केन्द्रीय समितिले असोज २१ को वैठकबाट गरिएको माग म पुन दोर्होयाउन चाहन्छु ।’
जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटन भारतको विहार राज्यका मुख्यमन्त्रीले गर्ने निश्चित भएको विषयले गम्भीर प्रश्न उब्जिएको भन्दै कांग्रेसले कुनै पनि परियोजनाको उद्घाटन दूर राष्ट्रका प्रधानमन्त्रीबाट संयुक्त रुपमा हुने या निश्चित विभागीय तहबाट हुने परम्परा र मर्यादा उलंघन नगर्न सरकारलाई सचेत गराएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्