मोवाइलले गर्दा ८ बर्षपछी हत्यारा प्रहरीको पासोमा
हत्या भएको आठ वर्ष वित्नै लाग्दा प्रहरीले राष्ट्रिय सभाका सदस्य जितेन्द्रनारायण देवका दाजु इञ्जिनियर हरिनारायण देवको हत्यामा संलग्न भनिएका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
सप्तरीको साविक बोरिया गाविस–३ का ५० वर्षीय इन्जिनियर हरिनारायण देवको गोली हानी हत्या गरेको आरोपमा सप्तरी प्रहरीले अग्नीसाइर कृष्णसवरण–४ टेंगरीका ५३ वर्षीय श्रीलाल मण्डललाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका मण्डललाई जिल्ला अदालतमा बिहीबार हाजिर गराइएको एसपी राजेन्द्र विष्टले बताएका छन् ।
बोरियास्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज–६ स्थित घरतर्फ आउने क्रममा घर नजिकै ०६७ पुस १३ गते साँझ देवको हत्या भएको थियो । मण्डल पक्राउ परेपछि मुल्तबीमा रहेको उनिविरुद्धको मुद्दा जगाई आदेशको तयारी भइरहेको श्र्रेस्तेदार दिलकुमार बर्देवाले बताएका छन् ।
हत्याको योजना जेलमै बनेको थियो
छिमेकी बिमलादेवी देवको घरमा ०६४ जेठ २९ गते डाँका गरेको आरोपमा कारागारमा थुनिएका गंगारामले आफूलाई हरीनारायण देवले गर्दा जेल परेकोले बाहिर निक्लेपछि बदला लिनुपर्ने भनी सँगै कारागारमा रहेका उमेश लगायतका अभियुक्तहरुसँग योजना बनाएका थिए ।
ठूलो रकम फिरौती लिन अपहरण गर्ने योजना सफल नभएपछि बाँसघारीमा लुकेर बसेका अभियुक्तहरुले नजिकैबाट प्रहार गरेको गोली देवको घाँटीको बायाँ भागमा लागेको थियो । अपहरण गर्न खोज्दा देवले प्रतिवाद गरेपछि गोली हानेर अभियुक्तहरु फरार भएका थिए । प्रतिवाद गर्दा घाँस मडारिएको घटनास्थलबाट प्रहरीले हत्याराहरुको छुटेको चप्पल र गोलीको खोका फेला पारेका थिए ।
हत्यामा संलग्न भएको रहश्य मोवाईलबाट खुल्यो
हत्यापछि परिवारका सदस्यहरुलाई धम्की दिन प्रयोग गरिएको तथा भूमिगत समूहले हत्याको जिम्मा लिँदै विभिन्न सञ्चार माध्यममा गरिएको मोबाइल फोनका आधारमा प्रहरीले घटना पत्ता लगाएको थियो । गंगारामले सरीतादेबी साहको नाममा रहेको ९८१४७०७१३७ नम्बरबाट मोबाइल गरी विभिन्न सञ्चार माध्यममा हत्याको जिम्मा लिदै फोन गरेका थिए ।
सरिताले मोबाइलको सिमकार्ड निकाल्न दिएको नागरिकता र फोटोको दुरुपयोग गरी अशोक यादवले गंगारामलाई दिएका थिए । आपराधिक पृष्ठभूमिका व्यक्तिहरुका साथै मोबाइल सन्देश र टेलिफोन कल विवरणहरुको निगरानी गरेर नै प्रहरीले हत्याको रहस्य पत्ता लगाएको बताइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्