एकाबिहानै मिनिबस दुर्घटना, २ को मृत्यु, १९ घाईते
बिहिबार राति डडेल्धुरामा १८ जनाको ज्यान गरी भएको बस दुर्घटनाको २४ घण्टा पुग्न नपाउँदै दार्चुलामा मिनीबस दुर्घटना भएको छ । मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस मालिकार्जुन–३, तेर्छालेकमा शुक्रबार बिहान ४ः ४५ बजे दुर्घटना भएको हो ।
मिनिबस दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले दुर्घटनाको पुष्टि गर्दै ५५ वर्षीय अनील पाल र अर्का एक पहिचान नखुलेका व्यक्तिको घटनास्थलमै ज्यान गएको जानकारी दिएका छन् । मृतक पाल भारतीय नागरिक हुन् ।
दुर्घटनामा १९ जना घाइते भएका छन् । तीमध्ये ४ जनाको जिल्ला अस्पतालमा र बाँकी १५ जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन् ।
बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । मिनिबस दुर्घटनाका घाईतको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए । मिनिबस सडकबाट करिब ३ सय मिटर तल खसेको बताईएको छ भने बस क्षतविक्षत अबस्थामा रहेको छ ।
बिहीबार मात्रै डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । अमरगढीको उग्रतारा मेला भरेर फर्कने क्रममा डा.केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्