सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

डडेल्धुराको अमरगढीमा लाग्ने उग्रतारा मेला मानेर फर्कने क्रममा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । दुर्घटनामा परी १० जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा उपक्षेत्रिय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा शिखर नपा–४ कि ३५ वर्षीया शशी विक, सोही नगरपालिका ११ कि २५ वर्षीया गोपा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

त्यसैगरी, नवदुर्गा गाँउपालिका–३ का चक्र धामी, तीलक खाती, टेक धामी, नवदुर्गा गाउँपालिका–४ की माया रावल, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, सोही नगरपालिका–७ का २२ वर्षीय योगेन्द्र बोहरा रहेका छन् ।

त्यस्तै डोटीको शिखर नगरपालिका–७ का शंकर जोरा, कैलालीको गोदावरी नगरपालिका–१० का २३ बर्षिय पुरन कठायत, सोही स्थानकी २० वर्षीया शारदा कठायत, गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय केशव कठायतले पनि दुर्घटनामा ज्यान गुमाएका छन् ।

बाँकी ४ जनाको भने सनाखत हुन सकेको छैन । बिहिबार साँझ से १ च २९३ नम्बरको बस केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने रडुवा खोलामा दुर्घटना भएको हो । बस सडकबाट करिब ५ सय मिटर तल खोल्सोमा खसेको थियो ।

पिस जोन एकेडेमीको स्कुल बस भए पनि बसमा अमरगढीमा लाग्ने उग्रतारा मेला भर्न गएका सर्वसाधारण यात्रु सवार रहेको प्रहरीले बताएको छ । दुर्घटनामा २७ जना घाईते भएका छन् । घाइतेमध्ये १० को उपक्षेत्रीय अस्पताल डडेल्धुरा, १० जनाको सेती अञ्चल अस्पताल, धनगढी र ७ जनालाई कोहलपुर मेडिकल कलेजमा पठाईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्