सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सप्तरीमा बस पोखरीमा पल्टिँदा ५ जनाको मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनरुवा टोलमा रहेको पोखरीमा बस पल्टिँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना शुक्रबार राति करिब साढे ८ बजेतिर भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालका अनुसार सुनसरीको बराह क्षेत्रको कुम्भ मेलाबाट फर्केको को १ ख २७९९ नम्बरको तीर्थालु बोकेको बस राजविराज हनुमाननगरको पोखरीमा पल्टिएको हो ।

उनले अहिलेसम्म ५ जनाको शव निकालेको पुष्टि गर्दै २२ जनाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको जानकारी दिएका छन् । उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या बढ्न सक्ने बताईएको छ ।

मृत्यु हुनेमा सप्तरी डाकनेश्वरी ५ की ७० बेचनीदेवी यादव, ६० वर्षीय सिकलादेवी साह, दिनेश रजक, नाम खुल्न नसकेकी उनकी श्रीमती र ठकनी देवी रहेका छन् ।

अस्पताल पुर्याइएका २२ घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सख्त घाइतेलाई धरान र विराटनगर रिफर गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।

सप्तरीको भुतही डाँक्रेश्वर नगरपालिका २ भूतहीबाट बिहीबार बराह क्षेत्रमा गएको बस शुक्रबार फर्कने क्रममा दुर्घटनामा परेको हो । बसमा करिब ७० जना यात्रु सवार रहेको अनुमान छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्