आफन्त ठगेर अमेरिकामा मस्ती, सरकारलाई सास्ती
कृत्रिम ऋणी खडा गरी झण्डै डेढ अर्ब रुपैयाँ घोटालाको अभियोग लागेका पवनकुमार कार्की ७ वर्षदेखि अमेरिकामा मोजमस्ती गरिरहेका छन् । कार्कीले आफन्तका नाममा २ अर्ब ५२ करोड रुपैयाँ बराबर रकम निकालेर डेढ अर्ब रुपैयाँ बराबरको अनियमितता गरेको अभियोग ठहर भएको छ ।
नातागोता, दाजुभाइ र ससुरालीका नाममा ऋण सारेर बैंक डुबाएका उनीविरुद्ध अदालतमा ४५ मुद्दा छन् । काभ्रेको बनेपा नगरपालिका–११ बुडोलका कार्की आफूविरुद्ध मुद्दा चल्नुअघि २०६८ सालमा फरार भएका थिए । जानकारहरूका अनुसार उनी अमेरिकाको टेक्सासमा बस्छन् ।
ग्रिनकार्ड लिएका उनी यहाँबाट बैंक ठगेर लगेको रकममा मोजमस्ती गरिरहेका छन् । बैंक कर्जाको ठूलो हिस्सा उनले विदेश पलायन गराएको आशंका छ । उनी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष हुन् । बनेपा नगरपालिका–११ का उनका ससुरा शम्भुबहादुर केसीले आफूलाई ज्वाइँले फसाएको भन्दै पोलेका छन् ।
कर्जा निजी खातामा जम्मा गरी निक्षेपकर्ताको रकम खान र मास्नमा संलग्नताको अभियोग लागेका केसीले ३ वर्ष जेल सजाय भोगिसकेका छन् । खोजीमा राज्यका सबै निकाय परिचालन गरिए पनि उनलाई पक्राउ गर्न सकेका छैनन् । उनैका कारण दाजुभाइ, इष्टमित्र, ससुराली र मावली खलक गरी नातागोता भित्रकै ४४ जनाभन्दा बढी मुद्दामा फसेका छन् ।
प्रहरी अनुसन्धानबाट बैंक घोटालाको रकमले काठमाडौंका विभिन्न स्थानमा ३ सय ७ रोपनी जग्गा किनेको फेला परेको छ । बैंकको सहमतिमा खरिद गरिएका विभिन्न जग्गा आफन्तको नाममा फर्म र कम्पनी दर्ता गर्न लगाएर सुनियोजित रूपमा ऋण भुक्तानी गरिएको थियो ।
यो प्रकरणमा २०६८ वैशाख १९ देखि जेठ ७ सम्म सुपरीवेक्षण विभागले गरेको निरीक्षणबाट नेपाल राष्ट्र बैंक कर्जाको व्यापक दुरूपयोग भएको निक्र्यौलमा पुगेको थियो । दुरूपयोगमा कार्की मुख्य योजनाकार रहेको किटान छ ।
मुख्य अभियुक्त कार्कीलाई एउटै मुद्दामा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५ (६) बमोजिम डेढ वर्ष कैद, १ अर्ब ४७ करोड ४९ लाख ७५ हजार रुपैयाँ जरिवाना र त्यति नै परिमाणको बिगो जफत हुने गरी अन्तिम फैसला भएको छ ।
तत्कालीन पुनरावेदन अदालतले २०७१ वैशाख २९ मा फैसला गरेको हो । जेल र जरिवाना तोकिएका नातागोताका कतिपयले कैद भुक्तान गरिसकेका छन् भने केहीले थुनाबाटै सर्वोच्चमा पुनरावेदन गरेका छन् । कार्की मुद्दा नचल्दै अमेरिका भागे ।
माथिल्लो अदालतमा पुनरावेदन नगरी फरार रहेकाले कार्कीको फैसला कार्यान्वयन गर्न काठमाडौं जिल्ला अदालतको तहसिलमार्फत् मुद्दाको लगत फैसला कार्यान्वयन निर्देशनालय र सीआईबीमा पठाइएको छ ।
सीआईबीले उनको नाममा ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । अमेरिकाको टेक्सासस्थित ठेगानामा नोटिस जारी भएको छ । नोटिसमा उनको सम्पर्क नम्बर १४४५१९७२८२२०८०१ र १४४५१८१७७०३०४५९ उल्लेख छ ।
सीआईबी प्रवक्ता सुदीप गिरीले कार्की र उनीसँग जोडिएका फरार अभियुक्त खोजीका लागि यतिबेला सबै ‘च्यानल’ प्रयोग गरिएको बताए । ‘कार्कीसमेत अभियुक्त पक्राउका लागि सबैतिर पत्राचार गरिएको छ । इन्टरपोलसहित सबै च्यानल गुहारेका छौं’, प्रहरी उपरीक्षक गिरीले भने, ‘सीआईबीले विशेष रूपमा हेरेको अवस्था छ । आर्थिक गतिविधि पनि निगरानीमा राखिएको छ ।’
प्रवक्ता गिरीले अमेरिका या विदेशमा लुकेका अभियुक्त समात्न सहज नभएको बताए । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक हरिराज कार्कीले विदेशमा लुकेका अभियुक्त समात्ने विषय सबै देशका लागि जटिल समस्या भएको बताए । कूटनीतिक च्यानल, पारस्परिक सहयोग र सुपुर्दगी सन्धिबिना अपराधी झिकाउन सकस रहेको गिरीको भनाइ छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्