सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चिनियाँ दुतावास हमलाका मास्टरमाइन्ड भारतमा

पाकिस्तानबाट छापिने उर्दू समाचारपत्रहरुले कराँचीस्थित चिनियाँ वाणिज्य–दूतावासमा भएको उग्रवादी हमलासँग ‘भारतीय सम्बन्ध’ रहेको लेखेका छन् । नोभेम्बर २३ को दिन पाकिस्तानको प्रमुख सहर कराँचीमा रहेको चिनियाँ वाणिज्य–दूतावासमा उग्रवादी हमला भएको थियो ।

हमलामा तीन आक्रमणकारी समेत कुल ७ जना मारिएका थिए । मारिनेमा दुई सर्वसाधारण थिए भने बाँकी सुरक्षाकर्मीहरु थिए । पाकिस्तानको एक प्रदेश बलूचिस्तानलाई स्वतन्त्र बनाउनुपर्ने माग लिएको संगठन ‘बलूचिस्तान लिब्रेशन आर्मी’ ले हमलाको जिम्मेवारी लिएको छ ।

बलूचिस्तान प्रदेशका गृहमन्त्री सलिम खोसाले भने घटना भारतले गराएको आरोप लगाएका छन् । पाकिस्तानी समाचारपत्र जंगका अनुसार पत्रकारहरुसँगको कुराकानीको दौरान गृहमन्त्री खोसाले चिनियाँ वाणिज्य–दूतावासमा भएको हमलाको मास्टरमाइन्ट असलम अच्छु भारतमा रहेको बताएका हुन् ।

मन्त्री खोसाले यो भन्दा पहिले असलम अच्छुको मृत्युको खबर आएको भएपनि उक्त खबर गलत भएको बताएका छन् । खोसाले असलम अच्छु भारतको एक अस्पतालमा उपचार गराइरहेको कुरामा आफू विश्वस्त भएको बताएका थिए ।

मन्त्री खोसाले यो घटनाले भारत बलूचिस्तान प्रदेशको अवस्था खराब बनाउन पूर्ण रुपले लागिपरेको पुष्टि गरेको आरोप लगाए । पाकिस्तानको ‘काउन्टर टेरोरिजम डिपार्टमेन्ट(सीटीडी)’का अध्यक्ष राजा उमर खत्ताबले वाणिज्य–दूतावासमाथि गरिएको हमलामा सी–४ प्लाष्टिकको प्रयोग गरिएको र उक्त सामाग्री पाकिस्तानमा नपाइने बताएका छन् ।

उमर खत्ताबको भनाईमा उग्रवादीहरुले यो विष्फोटक सामाग्री हमलाको योजना तयार पार्ने शक्तिबाटै प्राप्त गरेको बताएका छन् । खत्ताबले घटनामा पाकिस्तानको शत्रु देशको हात रहेको आरोप लगाएको पत्रिकामा उल्लेख छ ।

उता सोही घटनामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो मामलामा सरकार, विपक्ष, सेना र चिनियाँ सरकार एकसाथ रहेको प्रतिक्रिया दिएका छन् । उनले हालै चीन सरकारसँग हस्ताक्षर भएको सम्झौताका विरोधी शक्तिले चिनियाँ वाणिज्य–दुतावासमा हमला गरेको बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्