सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कार्यक्रम क्रिस्चियन आइएनजिओको, खर्च सरकारको

युनिभर्सल पिस फेडेरेसनले राजधानीमा गर्न लागेको एसिया प्यासिफिक समिटका लागि अर्थ मन्त्रालयसँग तीन सरकारी निकायले साढे ३२ करोड रुपैयाँ माग गरेका छन् । सडक टालटुल, सुरक्षाकर्मी परिचालन र विशिष्ट अधिकारीसँग नेपाल सरकारका अधिकारीले गर्ने भेटवार्ताका लागि उक्त बजेट मागिएको हो ।

यो रकम गत भदौमा सम्पन्न बिमस्टेक सम्मेलनको खर्चभन्दा दोब्बर हो । बिमस्टेक सम्मेलनमा परराष्ट्र मन्त्रालयले व्यवस्थापन गरेको खर्चबाहेक करिब १५ करोड रुपैयाँ लाग्ने प्रस्ताव ५ वटा मन्त्रालयले गरेका थिए ।

सरकारले निकै महत्त्व दिएर गरिएको कार्यक्रममा भन्दा दोब्बर बजेट माग हुनुलाई अर्थका अधिकारीहरूले अस्वाभाविक भन्दै कडाइ गर्न खोजेको बताएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार फेडेरेसनले गर्ने सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट अधिकारीको सुरक्षार्थ र सरकारका तर्फबाट गरिने साजसज्जाका लागि मात्रै साढे ३२ करोड रकम माग भएको छ ।

गृह मन्त्रालयले सुरक्षा शीर्षकमा ११ करोड रुपैयाँ मागेको छ । ‘त्यसमध्ये २ करोड रुपैयाँ निकासा भइसकेको छ,’ अर्थका एक अधिकारीले भने । गृहले सुरक्षामा खटिने प्रहरीका लागि खाजाखर्चका नाममा रकम मागेको हो ।

बिमस्टेक सम्मेलनमा गृहले २ करोड रुपैयाँ मागेको थियो । अहिले सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत उपत्यकाका सडक टालटुल गर्न २० करोड रुपैयाँ बजेट मागेको छ । विभागले बिमस्टेकका बेला सडकले ८ करोड २१ लाख १५ हजार रुपैयाँ बजेट मागेको थियो ।

परराष्ट्र मन्त्रालयले कार्यक्रममा सहभागी हुन आउनेसँग सरकारी अधिकारीको द्विपक्षीय बैठक हुने भएकाले त्यसका लागि करिब ५० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ । यसबारे विस्तृत विवरण अर्थमा पेस गरिनसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

फेडेरेसनले मंसिर १५ र १६ गते आयोजना हुने सम्मेलन स्थलको व्यवस्थापन आफैंले गर्दै छ । त्यसअगाडि काम गर्न सडक विभाग, परराष्ट्र र गृह मन्त्रालयले अर्थसँग बजेट मागेका हुन् । गृहलाई दिइएको दुई करोड रुपैयाँबाहेकको रकम निकासा दिनेरनदिनेबारे अर्थले निर्णय गरिसकेको छैन ।

यो बजेट निकासा गरिदिन मन्त्रालयका अधिकारीहरूले अर्थमन्त्री युवराज खतिवडा, मन्त्रालयका सचिव र बजेट महाशाखाका अधिकारीलाई दबाब दिइरहेका छन् । ‘सुरक्षाकर्मीका लागि दैनिक ७ सय ५० रुपैयाँका दरले खाजाभत्ता दिने गरी गृहले बजेट मागेको हो,’ अर्थका ती अधिकारीले भने, ‘बजेट कार्यसम्पादन निर्देशिकाअनुसार दैनिक २ सय ५० रुपैयाँभन्दा बढी भत्ता रकम दिन मिल्दैन ।’

यही कारण गृहका लागि थप केही रकम निकासा हुने भए पनि ११ करोड पूरै दिन नसकिने अर्थले जनाएको छ । सडक विभागका लागि पनि अर्थमन्त्री खतिवडा र अर्थका अन्य अधिकारीले यस्तै जवाफ दिएका छन् । बिमस्टेक सम्मेलनका बेला पनि सडक टालटुल गरिएको थियो ।

‘बिमस्टेक भर्खरै सम्पन्न भएको छ, त्यतिबेला गरिएको काम के भयो भनेर अर्थमन्त्रीले विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठलाई प्रश्न गर्नुभएको थियो,’ थप बजेट मागबारेको छलफलमा सहभागी एक अधिकारीले भने ।

महानिर्देशक श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाले फेरि सडक भत्काएका कारण थप टालटुल पार्न बजेट आवश्यक रहेको बताएका थिए । ‘कहाँ–कहाँ कति–कति रकम आवश्यक छ, त्यसको विस्तृत विवरण पेस गर्न भनिएको छ,’ अर्थका ती अधिकारीले भने ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्