सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अबको ६ बर्षमा टाट पल्टिएर देशै बेच्नुपर्ने अवस्था

देशमा भ्रष्टाचार र बेथिती बढ्दै गएका बेला नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले यस्तै अवस्था रहे अबको ६ बर्षमा देश टाट पल्टिने ठोकुवा गरेका छन् । सरकारले निकै तामझामका साथ सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमबारे आफ्ना विचार राख्दै उनले यस्तो बताएका हुन् ।

डा.दिक्षितले सरकारले हिजोबाट सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम सैद्धान्तिक रुपमा ठीक भएपनि यसको दीर्घकालिन नतिजा डरलाग्दो हुने बताएका छन् । निजी क्षेत्रका व्यक्तिहरुले सामाजिक सुरक्षा कार्यक्रम राम्रो रहेकाले सहयोग गर्नुपर्छ भनेको सुनाउँदै उनले भने–‘उनीहरुले राम्रो भने तर, यसको व्यवहारिक पक्षलाई ध्यान दिनुपर्छ ।’

दिक्षितले आखिरमा नेपाल ४, ५ वा ६ वर्षमा टाट पल्टिने खतरा औंल्याएका हुन् । उनले भने–‘त्यो लगानी कोष छ, त्यो विल्कुलै टाट पल्टिन्छ, ३४ लाख ८ हजार कर्मचारी एकैचोटी आन्दोलनमा गए भने के हुन्छ ?’

उनले ठोकुवा गर्दै भनेका छन्–‘यो कार्यक्रम लागू गर्न अबको दुई वर्षमा डेढ खर्ब रुपैयाँ जम्मा हुन्छ भनिएको छ । हामी अहिले रामराज्यमा त छैनौँ, हामी नेपालीहरुमा भ्रष्टाचार कति छ ? यो तपाईहरुलाई थाहा छ । यो भ्रष्टाचार यति व्याप्त भएको ठाउँमा डेढ खर्ब रुपैयाँ कसरी जम्मा हुन्छ र त्यसमा क–कसको गिद्दे नजर लाग्ला भन्ने कुरा त्यो तपाईँहरुले विचार गर्नुहोला ।’

साक्षात्कारमा बोल्दै उनले नागरिक लगानी कोषको अर्बौँ रुपैयाँ डुब्ने अवस्था रहेको चिन्ता पनि व्यक्त गरेका छन् । ‘नागरिक लगानी कोषको पैसा नागरिकको हो । योसँग जोडिएर भर्खरै वाइडबडीको कुरा आएको छ । त्यसमा नागरिक लगानी कोषको ठूलो पैसा परेको छ । त्यो यसरी हेर्दा डुब्दैछ किनभने नेपाल एयरलायन्स त डुब्दैछ ।’

उनले भने, ‘मन्त्रीले अहिले जे जति भने पनि तथ्य भनेको नेपाल एयरलायन्स चुर्लुम्मै डुबेको छ । ऊ अब पैसा नभई उठ्ने अवस्थामै छैन, त्यो पैसा कसले दिने ? र कहाँबाट आउने भन्ने कुरामात्रै हो ।’

दीक्षितले नेपालमा जुन–जुन सरकार आएपनि गिद्धे आँखा चाहिँ त्यही लगानी कोषमा हुने बताए । ‘अहिले हेर्नुहोस इन्सुरेन्समा पनि त्यही छ, हजार रुपैयाँ पर्ने कुरामा दश हजारको बिल आउँछ । सबैको मिलोमतो छ,’ दीक्षितले थपे, ‘आज नेपालका हरेक पार्टीका ट्रेड युनियन छन्, ट्रेड युनियन हुनु भनेको घातक हो ।’

उनले नेपाल हरेक हिसाबबाट आर्थिक जोखिममा रहेको पनि बताए । ‘यदि कोषको पैसा डुब्यो भने नेपाल सरकारले पैसा ल्याउनुपर्छ, कहाँबाट ? विदेशबाट । त्यो रकम सबै सरकारले त दिँदैन । कम्युनिष्ट सरकार रह्यो भने उसले कम्युनिष्ट मुलुक नै खोज्छ ।

अहिले कम्युनिष्ट मुलुक त चीन नै हो’, दीक्षितले भने, ‘चीनले लगानी गरिदिन्छ । पैसा पनि दिन्छ । तर, डर कहाँ छ भने चिनियाँहरुले आरामसँग पैसा हालेका छन् । तर, पैसा फर्काउन नसक्ने मुलुकहरु ‘डेब्ट–ट्रयाप’मा परेका छन् । उनीहरु ऋणको जालोमा परेका छन् ।’

श्रीलंकाजस्ता देशले पनि चीनको पैसा तिर्न नसकेर आफ्नो भु–भाग ९९ वर्षलाई लिजमा दिनुपरेको दीक्षितले सुनाए । ‘हामीले अब बाहिरबाट पैसा लिँदा पनि चीनकै लियौं भने तिर्न सक्ने अवस्थामा छैनौं’, दीक्षितले भने, ‘नतिर्ने बित्तिक्कै मुलुक डुब्छ ।’ चीनको ऋण तिर्न नसकेर श्रीलंकाले आफ्नो भूभाग डुबाएको बताउँदै उनले नेपालको त देश नै डुबाउने खतरा औंल्याए ।

त्यसपछि मुलुक विकाउमा जाने उनको भनाई छ । दीक्षितले भने–‘अहिले होस पु¥याउने अवस्था आएको छ । सरकारले कुरा त ग¥यो तर दीर्घकालिन रुपमा यसको नतिजा असाध्यै डरलाग्दो छ । त्यसैले अहिले सबैले होस गर्ने बेला छ । हामी कुनै पनि हालतमा मुलुकलाई विदेशीको पैसामा नबेचौँ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS