सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानले बनाईदिने भयो कोटेश्वर–भक्तपुर सुरुङमार्ग

राजधानी काठमाण्डौको कोटेश्वर क्षेत्रमा भइरहेको चर्को सवारी जाम अन्त्यका लागि कोटेश्वर देखी भक्तपुरसम्मको सुरुङमार्ग बनाउन जापान सरकार तयार भएको छ । कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग बनाउन जापान तयार भएपछि सम्झौताको तयारी गरिएको छ ।

पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतका अनुसार केही समयअघि भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भ्रमणका क्रममा जापान सरकारले यो सुरुङमार्ग बनाउने अनौपचारिक सहमति गरेको हो ।

परराष्ट्र मन्त्रीको भ्रमणका क्रममा भएको सहमति अनुसार कोटेश्वर सुरुङमार्ग र सूर्यबिनायक–धुलिखेल ६ लेनको सडक निर्माणका लागि चाँडै हस्ताक्षर हुने भएको छ ।

परराष्ट्र मन्त्रीको भ्रमणका क्रममा अनौपचारिक सहमति जुटेपछि नेपालस्थित सडक विभागको वैदेशिक सहायता महाशाखामा भएको बैठकमा जापानी प्रतिनिधिहरुले कोटेश्वर–भक्तपुर सुरूङ मार्ग बनाउन अध्ययन थाल्ने बताएका थिए ।

सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङमार्गको अध्ययन थालिने जानकारी दिएका छन् । त्यस्तै अरनिको राजमार्गको कोटेश्वर–सूर्यविनायक खण्डस्थित चारदोबाटो चोक, मनोहरा पुल, लोकन्थली र राधेराधे चोकमा आकाशे पुल निर्माण गरिने भएको छ ।

जडीबुटी चोकदेखि टंकप्रसाद आचार्यको शालिकसम्म र ठिमीस्थित क्षयरोग अस्पताल क्षेत्रमा सर्भिस ट्रयाक निर्माण र सडक ट्राफिक बत्ती राखिने भएको छ । जडीबुटी, लोकन्थली, कौशलटार, ठिमी लगायत ठाउँमा दुईतल्ले सर्भिस ट्रयाक र निर्मणाधीन राधेराधेको हनुमन्ते पुल र लोकन्थलीको मनोहरा पुल निर्माणलाई तीब्रता दिने निर्णय भएको थियो ।

बैठकमा सांसद महेश बस्नेत, उप–महानिर्देसक सञ्जय श्रेष्ठ, कोटेश्वर–सिन्धुली सडकको डिभिजन इन्जिनियर राकेश महर्जन लगायत थिए । उप–महानिर्देशक श्रेष्ठले भने–‘यसबारे जापानी टिमले अध्ययन गर्दैछ, अध्ययनपछि कहाँदेखि कहाँसम्म बनाउने टुंगो लाग्छ ।’

उनका अनुसार सुरूङ मार्ग जडीबुटी, तीनकुने हुँदै बालकुमारीसम्म निकाल्ने गरी बनाउने तयारी पनि गरिएको छ ।’ तत्काललाई मनोहरा खोलामा अस्थायी पुल बनाएर मोटरसाइकलका लागि नयाँ सर्भिस ट्रयाक पनि खोल्ने तयारी गरेका छौँ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्