काबुल आक्रमणमा १० को मृत्यु, ११ नेपालीसहित १६ घाइते
अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको पुष्टि भएको छ । उनीहरू कार्यरत रहेको ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई सूचित गरिएको जनाएको छ ।
अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार सो घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो । आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते भएका छन् ।
जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको छ । अफगान अधिकारीहरूका अनुसार कार बम विस्फोट गराएपछि पाँचजना सशस्त्र आक्रमणकारीहरू जीफोरएसको परिसरमा प्रवेश गरेका थिए ।
त्यसपछि दुई पक्षबीच निकै धेरै गोली हानाहान भएको थियो । घटना हुँदा सो स्थानमा ३३० व्यक्ति रहेका थिए । तीमध्ये अधिकांश विदेशी थिए । आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ ।
जीफोरएस विश्वकै सबभन्दा ठूलो सुरक्षा कम्पनीमध्ये एक हो । उसले ब्रिटिश दूतावास वरपरको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ । पछिल्लो हिंसा राष्ट्रपति अशरफ गनीले तालिबान समूहसँग शान्ति सम्झौताका लागि योजना अघि सारेको केही घण्टामा भएको हो ।
अफगानिस्तानमा कति छन् नेपाली ?
द्वन्द्वग्रस्त अफगानिस्तानमा उल्लेख्य सङ्ख्यामा नेपालीहरू पनि कार्यरत छन् । तीमध्ये कतिपय सुरक्षा क्षेत्रमा संलग्न छन् । यसअघि सन् २०१६ को जुनमा राजधानी काबुलमा गरिएको एउटा आक्रमणमा १२ जना नेपाली मारिएका थिए ।
सो आक्रमणलाई आतङ्कवादी घटना भन्दै नेपाल सरकारले त्यसको भत्र्सना गरेको थियो । वैदेशिक रोजगारीको लागि औपचारिक रूपमा खुल्ला नगरिएको अफगानिस्तानमा नेपाली कति सङ्ख्यामा छन् भन्ने स्पष्ट छैन ।
अफगानिस्तानमा सङ्घर्ष चर्किनुका पाँचवटा प्रमुख कारण छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१७ मा अफगानिस्तानमा १० हजारभन्दा बढी मानिसहरू मारिएका थिए । सन् २०१८ मा त्यो सङ्ख्या अझ बढ्नसक्छ ।
१. सरकारी फौज र लडाकु दुवै पक्षले आ–आफ्नो प्रभाव र थप क्षेत्रमा नियन्त्रण बढाउन प्रयत्नशील छन् ।
२. सन् २००१ को अमेरिकी रणनीतिको प्रभावकारितामाथि प्रश्न उठाइएको छ । एक दशकअघि अमेरिका र अफगान सरकारले अफगानिस्तानमा १५ हजार लडाकु भएको अनुमान गरेका थिए । अहिले तिनीहरूको सङ्ख्या ६० हजार पुगिसकेको अनुमान छ ।
३. अफगानिस्तानमा इस्लामिक स्टेट समूहको उदयसँगै त्यहाँ हिंसा र बर्बरता बढेको छ । पछिल्ला हिंस्रक आक्रमणहरूको सोही समूहले जिम्मेवारी लिने गरेको छ ।
४. त्यसपछि वार्ताको कुराले महत्व पाएको हो । तर तालिबानले त्यसबाट फाइदा लिन चाहेको देखिन्छ ।
५. अमेरिका र अन्य देश (पाकिस्तान, रुस र इरान) बीचको तनावले नकारात्मक असर परेको छ । अमेरिकी र अफगान सरकारले ती तीनवटै मुलुकले तालिबानलाई सघाएको आरोप लगाउने गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्