प्रधानमन्त्रीविरुद्ध ओली विरुद्ध धर्म परिवर्तनको उजुरी
धर्म परिवर्तन गरेको आरोप लगाउँदै एकजना अधिवक्ताले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । प्रधानमन्त्रीविरुद्ध उजुरी लिएर पुगेका अधिवक्ता भूपेन्द्र पोखरेललाई महानगरीय प्रहरी परिसर टेकुले आरोप पुष्टि नहुने भन्दै फर्काइदिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले धर्म परिवर्तन गरेको भन्दै हेटौंडा उपमहानगरपालिका–७ घर भइ काठमाडौंको हनुमानस्थान बस्दै आएका अधिवक्ता पोखरेल उजुरी लिएर पुगेका थिए ।
उनले जाहेरीमा भनेका छन्–‘लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै पुरस्कार र तक्मा दिने, अन्र्तराष्ट्रिय क्षेत्रमा शान्ति कायमका लागि कार्यक्रम गर्ने गराउने भन्दै आयोजक बनेर प्रधानमन्त्रीको उपस्थितिमा ५ दिनसम्म होटल हायालमा क्रिष्चियन सम्मेलन गरेर जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं आस्था राख्न बाध्य पार्ने तरिकाले नेपालका उच्च पदाधिकारी, उच्च ओहोदाका कर्मचारी राष्ट्रसेवक एवं मेयर, उपमेयरलाई सम्मेलनमा बोलाएर सच्चा माता भनिने मुनबाट आर्शिवाद समेत लिने काम भएको छ ।’
प्रधानमन्त्रीविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी लिएर पुगेका अधिवक्ता पोखरेल
अपराध (संहिता) ऐन २०७४ को दफा १५८ को १, २ विपरित धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भएर मतियार भइ विवादित संस्था यूपीएफको अवार्ड वा उपहार, तक्मा दिने कार्य संविधानको धारा २७७ विपरित भएको उनले जाहेरीमा दाबी गरेका छन् ।
उनले प्रमाणको रुपमा प्रधानमन्त्री, अन्य मन्त्री, जनप्रतिनिधि लगायतले दिएको सन्देश, विभिन्न पत्रपत्रिका, मिडिया रेकर्ड रहेको जोहरीमा उल्लेख गरेका छन् भने आवश्यक छानबिनका गर्न माग गरेका छन् ।
प्रधानमन्त्रि ओली र क्रिश्चियन धर्म प्रचारमा सक्रिय युनिभर्सल पिस फेडेरेशनका नेपाल प्रमुख एकनाथ ढकालविरुद्ध लगाइएको आरोप उजुरीबाट प्रमाणित नहुने बताएपछि अधिवक्ता पोखरेल फर्किएको परिसर प्रमुख एसएसपी वसन्त लामाले बताएका छन् ।
‘अधिवक्ता पोखरेलले ल्याएको उजुरी अध्ययन गरेपछि प्रधानमन्त्रीमाथि लगाइएको आरोप यतिले पुष्टि नहुने मैले बताएको थिएँ’, लामाले भने, ‘उजुरीलाई मुद्दा शाखामा छाडेर जानु भनेँ, तर उनले लिएरै गएछन्, दर्ता गर्न अस्वीकार गरेको गलत हो ।’
जाहेरीकर्ता अधिवक्ता पोखरेलले भने आफू जाहेरी दर्ता गराउन जाँदा एसएसपी लामाले गाली गरेको बताएका छन् । ‘उहाँले के प्रमाण छ ? राजनीति गर्न आउनु भएको भन्दै सिधै गाली गरे’, उनले भने, ‘मैले पुरस्कार लिएकोदेखि हरेक कुरा सार्वजनिक रुपमा देखिइसकेको भन्दै छानबिन गरिदिन भन्दै आएको बताएँ । तर, संविधानमा व्याख्या भएको कुरा बताउँदा समेत उहाँले हुँदैन भनेर फर्काउनु भयो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्