निर्मला काण्डमा शंकास्पद एक युवा नियन्त्रणमा
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको घटना सार्बजनिक भएको छ ।
कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ । हाल उनको नाम गोप्य राखिएको छ । पक्राउ परेका व्यक्ति लागूऔषध दुव्र्यसनी हुन् ।
विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो । यद्यपि, उनी भारत गएको परिवारले दाबी गरेको थियो । तर, पछिल्लो समय उनी काठमाडौंमा देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ ।
उनको डीएनए परीक्षण गरिने प्रहरीको भनाइ छ । उता घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाही भने घटनाको अनुसन्धान जारी रहेकाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने र छोड्ने क्रम चलिरहेको बताउँछन् ।
‘अनुसन्धानका लागि एक जना मात्रै होइन, थुप्रै व्यक्ति हामीले नियन्त्रणमा लिएका छौं’, उनले भनेका छन्–‘तर, अहिल्यै तपाईंहरुलाई दिन कुनै उपलब्धिमूलक सूचना छैन ।’ उनले घटनामाथि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको दाबी गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्