सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दिउँसै टर्च बालेर निर्मलाको न्याय खोज्दै अधिकारकर्मी

बलात्कारपछि हत्या भएको चार महिनासम्म पनि १३ वर्षीय बालिका निर्मला पन्तले न्याय नपाएको भन्दै अधिकारकर्मीले बलात्कारी हत्यारालाई पहिचान गरी कारबाही गर्न माग गर्दै टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । कञ्चनपुरका अधिकारकर्मी महिलाले बुधबार दिउँसै टर्च बालेर महेन्द्रनगरमा प्रदर्शन गरेका हुन् ।

पीडित परिवारले धर्ना दिइरहेको जिल्ला प्रशासन कार्यालय अगाडिबाटै अधिकारकर्मीले टर्च बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी टर्च बालेर जिल्ला प्रशासन कार्यालय परिसर प्रवेश गरेका थिए ।

अधिकारकर्मी शारदा चन्दले भनिन्–‘अहिलेसम्म पनि न्याय पाइएको छैन, हराएको न्याय खोज्न कै लागि टर्च बालेर खोजी गर्न लागेका हौं ।’ अधिकारकर्मीले चार महिनासम्म पनि हत्यारा पक्राउ गर्न नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रशासन कार्यालयको परिसरभित्र ३० मिनेटजति धर्नासहित नारावाजी गरेका अधिकारकर्मीले त्यसपछि टर्च बालेरै प्रदर्शन गरेका हुन् ।

चरणवद्ध आन्दोलनका घोषणा गरेका अधिकारकर्मीले दुई दिन कालोपट्टी बाधेर धर्ना दिएका थिए । कञ्चनपुरसहित देशभर निर्मलाको न्यायका लागि आन्दोलन जारी छ । साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मलाको हत्या भएको १ सय ३० दिन बितिसकेको छ ।

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमानामा पर्ने निम्बुखेडा खोला नजिकै शव भेटिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्