सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जेलको पति छुटाइदिए वापत बलत्कार अनि १० लाख

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला सप्तरीमा एक नेताले महिलासँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको घटना बाहिर आएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा)का सप्तरी जिल्ला कोषाध्यक्ष छिन्नमस्ता गाउँपालिका–५ का लोखरमका मनोज मेहतालाई एक महिलाको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।

ठगी तथा बलात्कारको आरोपमा मनोज मेहतालाई आइतबारै गिरफ्तार गरी कारवाही थालेको बुझिएको छ । राजविराज कारागारमा थुनामा रहेका आफ्ना श्रीमानलाई छुटाइदिने प्रलोभनमा स्थानीय एक महिलासँग पटक पटक गरी साढे १० लाख लिएको र लजमा लगेर जबर्जस्ती करणी गरेको महिलाको आरोप छ ।

मेहताविरुद्ध ठगी तथा बलात्कार दुबै उजुरी दर्ता गरिएको डीएसपी भावेश रिमालले बताएका छन् । अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई राजनीतिक पहुँचका आधारमा छुटाइदिने आश्वासन दिँदै मेहताले महिलालाई शोषण गरेको बुझिएको हो ।

पछिल्लोपटक शंका लाग्न थालेपछि पीडितले बैंकमार्फत एक लाख ९५ हजार पठाएकी थिइन् । त्यसअघि साढे एक लाख, तीन लाख र चार लाख रुपैयाँ पटक पटक गरी विभिन्न ठाउँबाट ऋणसापट लिएर नगदै दिएको पीडितको भनाइ छ ।

जेल परेका श्रीमानले नै मेहतासँग गत चैतको अन्त्यतिर चिनजान गराइदिएपछि वैशाखदेखि मेहताले बारम्बार सम्पर्क गरी आफ्नो पहुँच न्यायाधीश, एसपी, कर्मचारी सबैसँग भएकाले छुटाउन दश लाख रकम माग गरेका थिए ।

पीडितका अनुसार पछिल्लो पटक जेलमै भेंट भएका मेहताले ‘न्यायाधीशका मानिससँग भेट्न जाउँ, आफैले कुरा गर’ भन्दै राजविराजस्थित अशोक लज लगेका थिए ।

लजमा ‘न्यायाधीशको मान्छे’ १५ मिनेटसम्म पनि नआएपछि निस्कन खोज्दा उनले भित्रबाट चुकुल लगाएर सुरुमा कुटपिट गरी बलात्कार गरेको पीडितले रुँदै बताइन् । यसबारे श्रीमानलाई तत्कालै आफूले जानकारी दिएपछि प्रहरीकहाँ उजुरी गरेको उनले बताइन् ।

जेलमा परेका श्रीमान छुट्ने आशामा उनले नन्द, माइती र अन्य मानिससँग ऋणकर्जा लिएर मेहतालाई पैसा दिएको बताएकी छन् । ‘पापीले इज्जत पनि लुट्यो । धर्म र धन लुट्यो ।’ मुद्दा दर्ता नम्बर लिन सोमबार जिल्ला प्रहरी कार्यालय आएकी पीडित महिलाले रुँदै भनिन्, ‘साह्रै अन्यायमा परेँ, न्याय चाहियो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS