सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘सिंहदरवार’ भ्रष्टाचारी र वलत्कारीको संरक्षण केन्द्र

‘सिंहदरवार’ भ्रष्टाचारी र वलत्कारीलाई संरक्षण गर्ने केन्द्र भएको बताउँदै दुई तिहाई भनाउँदो सरकारले कारबाही गर्न नसकेका बलात्कारी र भ्रष्टारीलाई जनताको सहयोगमा कारबाही गर्ने विप्लव नेतृत्वको नेकपाले चेतावनी दिएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधवार कालिकोटमा शक्ति पर्दशन गर्दै यस्तो चेतावनी दिएको हो । नेकपा कालिकोटद्वारा बुधबार आयोजित जनसभामा जिल्लाका ९ वटै स्थानीय तहबाट हजारौँको संख्यामा नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।

जनसभालाई सम्बोधन गर्दै नेकपा पार्टी प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले मुलुकमा रहेका भ्रष्टाचारी र बलात्कारी नेकपाको प्रमूख निशानीमा रहेको बताएका छन् ।

उनले भने, ‘अहिलेको सरकार र सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा हो । हाम्रो पहिलो निशाना नै भ्रष्टाचार र बलात्कारी हुन् । सरकारले कारबाही गर्न नसकेका अपराधीहरुलाई अब नेकपाले जनताको सहयोगमा कारबाही गर्छ ।’

उनले भ्रष्टाचारी र बलात्कारी संरक्षण गर्ने तप्काको दिनगन्ती सुरु भएको भन्दै चेतावनी पनि दिए । दुई तिहाइ सरकारले गरेका हरेक गतिबिधि जनताबाट बहिस्कृत भएको र सरकारले ९ महिनाको अवधीमा एउटा पनि जनहितमा काम गर्न नसकेको प्रकाण्डको दावी थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्