सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कांग्रेस र भारत राजतन्त्र पुर्नस्थापनाको डिजाइनमा

पछिल्लो समय सर्बसाधारणमा राजनितिक वितृष्णा बढदै गईरहेको र राजसंस्थाको सक्रियता बढिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र भारतले राजतन्त्रको पुर्नस्थापनाको गृहकार्य गरिरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गुरूङले नेपाली कांग्रेसले घुमाइफिराई देशमा राजतन्त्र ल्याउन चाहेको आरोप लगाउँदै भारतले गणतन्त्र दिवसमा पूर्वराजालाई बोलाउने विषय ठूलो ग्राइन्ड डिजाइनका साथ बाहिर आएको तर्क समेत गरेका छन् ।

कांग्रेस महामन्त्रीले हिन्दुराष्ट्रको वकालत गर्नु, यही समयमा राप्रपाका बिचमा पार्टी एकताको प्रसङ्ग उठ्नु, कम्युनिष्ट पार्टीबीच भएको एकताको विरुद्ध विभिन्न चलखेलहरु भएको भन्दै उनले भारतले नेपालमा अस्थिरता ल्याउन चाहेको आरोप लगाएका छन् । उनले पुरानो मानसिकता र संरचना परिवर्तन नहुँदा सरकारको कामले गति लिन नसकेको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले भनेका छन्–‘देशमा शासक र शासन गर्ने शैली फेरिए पनि सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने कर्मचारीतन्त्रमा पुरानै मानसिकता कायम रहँदा अपेक्षाकृत काम हुन सकेको छैन, सरकारले काम गरेपनि कर्मचारीतन्त्रका कारण प्रभावकारी नदेखिएकोले कार्यान्वयन गर्ने तौर तरिकामा पनि परिवर्तन ल्याउन जरुरी छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्