अंग्रेजी झैँ अब विद्यालय शिक्षामा चिनियाँ भाषा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन् । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले बुधवार साँझ आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’ कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।
मन्त्री पोखरेलले नेपालका विद्यार्थीले चीनमा पढेर नेपाल–चीनबीचको सम्बन्धलाई झन् नजीक बनाएको बताएका छन् । उनले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएकोले उक्त नारा पूरा गर्न चीनमा पढेर स्वदेश फर्केका नेपालीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।
अबका २५ वर्ष पछाडिको नेपालमा चाहिने शिक्षाअनुसारको नीति बनाउन मन्त्रालय लागिरहेको उनको भनाइ थियो । भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणमा चीन सरकारले सहयोग पुर्याएको भन्दै मन्त्री पोखरेलले चीन सरकारलाई धन्यवादसमेत दिएका थिए ।
नेपालका लागि चिनियाँ राजदूत यू होङले भेलाले नेपाल र चीनका विद्यार्थीबीच सम्बन्ध थप नजिक बनाएको बताइन । उनले आगामी दिनमा पनि यस्ता भेला गर्न सुझावसमेत दिइन । नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको चीन भ्रमणले पनि नेपाल–चीन सम्बन्ध झन् नजिक बन्दै गएको उनको भनाइ थियो ।
भेलामा नेपालबाट चीन गएर विभिन्न विषय अध्ययन गरेका विद्यार्थीले आफ्नो पढाइको अनुभवबारे प्रस्तुति दिएका थिए । नेपालबाट हाल झण्डै सात हजारको हाराहारीमा विद्यार्थी चीनमा अध्ययन गर्दछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्