बैदेशिक रोजगारीले ल्याएको पारिवारीक विखण्डन
रोजगारीका लागि मलेसिया गएका छोरा उतै बेपत्ता भएपछि धादिङको सिद्धलेक गाउँपालिकामा पर्ने कुम्पुरकी देवकी पण्डितलाई न दिनमा भोक लाग्छ न रातमा निद्रा ।
घरको आर्थिक अवस्था सुधार गरेर परिवारको भविष्य उज्ज्वल बनाउने उद्देश्यका साथ मलेसिया गएका उनका छोरा दामोदर पण्डित १० वर्षदेखि सम्पर्कविहीन छन् । देवकीले भनिन्–‘न फोनमा कुरा गर्न पाइन्छ न घर नै फर्कन्छ, अब त बुढेसकालमा छोराको माया पाउँछु कि भन्ने आस पनि मरिसक्यो ।’
स्वदेशमा रोजगारी नहुँदा वैदेशिक रोजगारी धेरै नेपालीको बाध्यता बनेको छ । परिवारको दुई छाक टार्न पनि धौ–धौ भएपछि जायजेथा सबै धितो राखेर वैदेशिक रोजगारीमा गएका कतिपय विदेशमै बेपत्ता तथा परिवारसँग सम्पर्कविहीन हुने गर्दा परिवारमा विखण्डन तथा मानसिक समस्या बढ्दो छ ।
रोजागारीका लागि मलेसिया नै गएका नलाङका समीर सिलवाल १४ वर्षदेखि घर फर्किएका छैनन् । घरको कमजोर आर्थिक अवस्था सुधार भनेर कमाउन विदेश गएको जेठो छोरो फर्केला कि भनेर आस गर्दागर्दै उनका बुबाआमा मानसिक रोगी भइसकेका छन् ।
‘आज आउला कि भोलि आउला कि भन्दाभन्दै १४ वर्ष बितिसके,’ समीरका बुबा पूर्णप्रसाद सिलवालले भने, ‘तर छोरो आउँदै आएन ।’ उनी बेपत्ता भएदेखि उनका बुबाआमाका आँखा कहिले ओभानो हुन पाएका छैनन् ।
यसरी विदेशमै बेपत्ता हुनेका श्रीमतीका पीडा झन् दर्दनाक छ । वैदेशिक रोजगारीमा गएका श्रीमान् उतै बेपत्ता हुँदा काखे बच्चाको स्याहार–सुसारदेखि घरका कामसम्म सबै एक्लैले गर्नुपर्दा उनीहरूका दिन तनावै तनावमा बित्ने गरेका छन् । यही तनावकै कारण कतिपय महिलामा मानसिक समस्यासमेत देखिएको छ ।
जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाकी २३ वर्षकी महिलाको परिवारमा वैदेशिक रोजगारीले विखण्डन ल्याएको छ । घरको आर्थिक संकट टार्न भनेर कमाउन कतार गएका श्रीमानले पैसा होइन, सौता लिएर आए ।
त्यसपछि उनलाई श्रीमानले दैनिक पिट्न थाले भने सासु–ससुराले पनि हेला गर्न थाले । सहनै नसकेपछि उनी अहिले घर छाडेर अन्तै बस्ने गरेकी छन् । उनी आफैं अब वैदेशिक रोजगारीमा जाने तयारीमा लागेकी छन् । काखमा रहेकी छोरीले बाबा खोइ भन्दा उनी जवाफ दिन सक्दिनन ।
विदेशमा काम गर्न गएका अधिकतर व्यक्तिका परिवारको अवस्था उस्तै छ । घरमा बुबा नहुँदा आमाले भनेको नमान्ने, विद्यालय जान नमान्ने, बीचमै पढाइ छाड्ने, बुबा साथमा नहुँदा न्यास्रो हुनेजस्ता समस्या बालबालिकामा देखिने गरेका छन् ।
विदेशमा बिरामी हुँदा होस् वा दुर्घटनामा पर्दा । गाह्रो काम पर्दा होस् वा भनेको काम र तलब नपाउँदा । त्यसको पीडासमेत घरमा बसेका परिवारले भोग्नुपर्ने हुन्छ ।
धादिङ जिल्ला अदालतको तथ्यांकअुनसार भदौ १ गते यता २७ पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दिएका छन् । यसरी मुद्दा दिनेमा धेरैजसो वैदेशिक रोजगारीबाट फर्किएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्