सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बुद्धिजीवीलाई प्रधानमन्त्रीको चेतावनी, जवाफ दिउँ ?

विवादीत एसिया प्यासिफिक समिटमा सरकारको सक्रिय सहभागितालाई लिएर आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाएको पदक जायज भएको बताएका छन् । साथै आफूले जवाफ दिँदा थला पर्न सक्ने भन्दै आफूसँग वादविवाद गर्नुअघि एकपटक सोच्न बुद्धिजीवीहरुलाई चेतावनीसमेत दिएका छन् ।

क्रिश्चियन धर्मसँग जोडिएको विवादास्पद संस्थाले गरेको सम्मेलनमा सरकार ‘सहआयोजक’ को हैसियतमा सहभागी भएको भन्दै प्रधानमन्त्री ओली र सरकारको चर्को आलोचना जारी छ ।

समिटमा सरकारको सहभागितालाई सत्तारुढ दल नेकपाकै नेताहरुले समेत विरोध गरेका छन् । तर, प्रधानमन्त्री ओलीले भने कार्यक्रम धर्म प्रचारसँग सम्बन्धित नभएको बताउँदै सरकार र आफ्नो बचाउ गर्दै आएका छन् ।

चुनावअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एक टेलिभिजन कार्यक्रममा ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ’ भनेको प्रशंग सामाजिक सञ्जालमा भाइरल बनेको थियो । अहिले प्रधानमन्त्री ओलीले बुद्धिजीवीबारे दिएको प्रतिक्रियाले पनि सामाजिक सञ्जालमा त्यसैगरी चर्चा पाएको छ ।

केही बुद्धिजीवीहरुले तल्लो स्तरको टिप्पणी गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनबाट बुधबार प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा असन्तुष्टि जनाएका छन् ।

यस्ता बुद्धिजीवीको असलियत आफूलाई जानकारी रहेको र आफूले जवाफ दिँदा थला पर्ने सम्भावना रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूलाई म जान्दछु । त्यसकारण मसँग एकपटक उहाँहरूले वादविवाद गर्न अथवा मसँग सत्यहरूको सम्बन्धमा बहस गर्ने इच्छा गर्नुभएको हो कि होइन ? उहाँहरूलाई सोध्न चाहन्छु, उहाँहरूका अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो ।’

सरकारकै भत्ता पेन्सन खाने सुविधा लिने र गैरजिम्मेवार ढंगले बोल्ने एउटा र गोपनीयताहरूको वास्ता नगरी अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने प्रवृत्ति देखिएको भन्दै उनले भने, म अत्यन्त अपमानजनक ढंगले म जवाफ दिइरहन चाहन्नँ तर, उहाँहरूलाई म सोध्नचाहिँ चाहन्छु, म पनि जवाफ दिऊँ ?’

प्रधानमन्त्री ओलीले अतिथि देवो भवः भन्ने नेपाली संस्कार भएको र पाहुनाको धर्म र जात नहेरिने बताएका छन् । एसिया प्यासिफिक सम्मेलन ठूलो स्केलको सम्मेलन भएको र ४५ देशका मानिसहरु आएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

एसिया प्यासिफिक समिटको एजेण्डा ‘आजका साझा चुनौती र त्यसको समाधान कसरी गर्ने’ भन्ने भएको भन्दै प्रधानमन्त्री ओलीले भने, त्यसमा नेपालको अवधारणा के हो ? नेपालले के भन्छ भन्ने कार्यकारी प्रमुखको हिसावमा मैले बोलेका कुराहरु नेपालले बोलेका कुरा हुन् । नेपालको भनाइ मैले भनेको छु । मेरो बोलाइमा कुनै खोट छ भने बहस गर्न तयार छु ।’

प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा आफूले पाएको सम्मान र त्यसलाई लिएर भएको आलोचनाबारे पनि मुख खोलेका छन् । ‘जुन सम्मान र पदक मैले पाएको हुँ, त्यो नेपाली जनताको सफलताको, नेपाली जनताको बलिदानीपूर्ण संघर्षले पाएको सम्मान हो’ उनले भने, ‘जुन बहुत जायज हो ।’

सम्मेलनमा सबैले नेपालको उपलब्धीको प्रशंसा गरेको र त्यसको नेतृत्व गरेको तथा सुशासनको पक्षमा काम गरेकाले आफूलाई यो सम्मान दिएको उनले बताए । प्रधानमन्त्री ओलीले एसिया समिटिमाथि भएको विरोधलाई अर्थतन्त्र र पर्यटनलाई अगाडि बढाउने प्रयासमाथिको हमला भनेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्