सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रातोपुलमा गोली हानिएका लुटेरा लिम्बुको नालिबेली

शुक्रबार दिउँसो रातोपुलमा गोली हानिएका लुटेरा चोर राजन लिम्वु बिभिन्न ६ ओटा घटनामा संलग्न रही फरार भएको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न राजन लिम्बुलाई प्रहरीले शुक्रबार दिउँसो गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । पक्राउ गर्न खोज्दा गोली चलाउँदै भाग्न खोजेपछी प्रहरीले लिम्बुमाथि गोली प्रहार गरेको जनाएको छ ।

लिम्बुले पेस्तोल देखाएर लुटपाट गर्ने गरेका थिए । उनले मंसिर १२ मा इटहरी बजारमा रहेको एक्टिभ मनी ट्रान्सफरमा सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी तीन लाखभन्दा बढी रकम लुटेर फरार भएका थिए । प्रहरीका अनुसार उनी वित्तिय संस्था लुटपाटमा संलग्न कुख्यात डाँका हुन् ।

इटहरीमै घर भएका लिम्बुले त्यसअघि ०६३ सालमा रोयल कोअपरेटिभ लिमिटेडको कार्यालयमा प्रवेश गरेर ११ लाख ३० हजार रुपैयाँ लुटिएको घटनामा पनि संलग्न भएको प्रहरीको भनाइ छ । उनले त्यतिवेला पेस्तोल देखाएर लुटपाट गरेका थिए ।

लुटेरा राजन लिम्वुको साथबाट बरामद गरिएको पेस्तोल

महाशाखाको टोलीले लिम्बुको साथबाट टाइप–५४ पेस्तोल र त्यसको ४ ओटा गोली समेत बरामद गरेको छ । लिम्बुलाई प्रहरीले उपचारका लागि ट्रमा सेन्टरमा लगेको छ । अपराध महाशाखाको टोलीले लिम्बुलाई रातोपुलबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीले लिम्बुको घुँडामा गोली हानेको छ । प्रहरीले हानेको गोलीले उनको अर्को घुँडामा समेत छेडेको बताइएको छ । महाशाखाबाट एसपी सोमेन्द्रसिंह राठौर र डीएसपी रुगम कुँवरको टोली अनुसन्धानमा खटिएको थियो ।

विभिन्न घटनामा संलग्न लिम्बुुको यसअघि महाशाखा र परिसरमा ६ भन्दा बढी उजुरी परेको प्रहरीको दावी छ । सो उजुुरीका आधारमा लिम्बुुलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको हो । लिम्बू विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न डाका मुद्दामा संलग्न रही फरार रहँदै आएको प्रहरीले जनाएको छ ।

लुटेरा राजन लिम्वु सहभागी भएका घटनाहरुको विवरण

फेसबुकबाट कमेन्ट गर्नुहोस्