सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गफ गर्दा उत्तेजित भएर निर्मलाको बलात्कार अनि हत्या

निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले बतायो ।

महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै लागुऔषध सेवन गर्थे । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् । तर, डिएनए रिपोर्ट नै निर्णायक हुने उनीहरूको भनाइ छ ।

के भने सोधपुछमा ?
पक्राउ परेका प्रदीपले निर्मलालाई आफूले पहिले नै चिनेको बताएका छन् । त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको बताएका छन् ।

साथी विशाल चौधरी पनि लागुऔषध सेवनका लागि आसपासमै रहेको र आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि–पछि आएको उनको भनाइ छ । निर्मलासँग गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको उनले बताएका छन् । पछि विशालले समेत बलात्कार गरेको उनले प्रहरीलाई बताएका छन् । बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको दुवैको भनाइ छ ।

बलात्कारपछी हत्या गरिएको अवस्थामा शब भेटिएपछी निर्मलाको सुरुवाल धुँदै महिला प्रहरी

‘दुवैलाई छुट्टाछुट्टै सोध्दा करिब ८० प्रतिशत कुरा मिल्दोजुल्दो छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘मोबाइलको विश्लेषणमा पनि घटनाका वेला उनीहरू त्यही क्षेत्रमा हुनु र घटनापछि गाउँमा बस्न छाड्नुले उनीहरूको संलग्नताको आधार बलियो बनाएको हो ।’

दुवैजनाले लागुऔषधको नसामा बलात्कार गरेको बताएका छन् । तर, उनीहरूको भनाइलाई मात्र आधार नमानेर प्रहरी बलियो प्रमाण खोज्नतर्फ लागेको छ । प्रदीपले यसअघि पनि आफन्त नै बलात्कार गरेको र सो घटना घरभित्रै गुपचुप राखिएको अनुसन्धानमा खुलेको छ । उनकै एक आफन्तले प्रहरीसँग प्रदीपको विगतबारे बताएका छन् । उनी चोरीका घटनामा विगतमा पनि पक्राउ परेका व्यक्ति हुन् ।


पक्राउ परेका अर्का अभियुक्त दिनेश चौधरीको भने प्रत्यक्ष संलग्नता नदेखिएको प्रहरी अधिकारी बताउँछन् । विशाल र दिनेशलाई बिहीबार महेन्द्रनगरबाट काठमाडौं ल्याएर सोधपुछ अघि बढाइएको छ । उनीहरूलाई अभिभावकसहित काठमाडौं ल्याइएको हो ।

डिएनए रिपोर्ट आउन केही दिन लाग्ने
शंकास्पद प्रदीप, विशाल र दिनेशको डिएनए परीक्षण प्रक्रिया अघि बढिसकेको छ । रिपोर्ट आएपछि मात्र उनीहरूविरुद्ध थप प्रमाण संकलन गरिने प्रहरीले जनाएको छ । डिएनए रिपोर्ट आउन अझै २–३ दिन लाग्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले जनाएको छ ।

प्रहरीले उनीहरूसहित अन्य १६ जनाको समेत डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । यसअघि नौजनाको परीक्षण गरिएकोमा नेगेटिभ आएको थियो । १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएकोमा प्रहरीले सुरुवाती चरणमा अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेको आरोप लाग्दै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्