मुख्यमन्त्री योगीको सुरक्षाका लागी ४ हजार सुरक्षाकर्मी
सरकारले प्रदेश नं. २ को जनकपुरधाममा हुन लागेको रामजानकी विवाह महोत्सवमा सहभागी हुनका लागी आउन लागेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी खटाउने भएको छ ।
धेरै संख्यामा सुरक्षाकर्मी खटिने भएका कारण अन्य प्रदेशबाटसमेत सुरक्षाकर्मी ल्याउने तयारी भएको छ । प्रदेशका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालका अनुसार प्रदेश अन्तर्गतका आठ जिल्लाबाहेक प्रदेश नम्बर १ र ३ बाटसमेत सुरक्षाकर्मी आउने भएका छन् ।
रामजानकी विवाह महोत्सवका लागि तीन हजारको संख्यामा नेपाल प्रहरी नै खटिनेछन् । यसमध्ये प्रदेश नम्बर २ को प्रत्येक जिल्लाबाट गरी एक हजार नेपाल प्रहरी खटिनेछन् । बाँकी २ हजार प्रदेश १ र ३ का साथै भरतपुर तालिमकेन्द्रबाट बोलाईएको छ ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार प्रदेशका जिल्लाहरुबाट सय जनासम्म प्रहरीलाई जनकपुर बोलाइएको छ । प्रत्येक जिल्लाका प्रहरी नायव निरीक्षक (डीएसपी)को नेतृत्वमा सयजना प्रहरीलाई बोलाइएको छ ।
यसबाहेक एक हजारको हाराहारीमा सशस्त्र प्रहरीलाई परिचालन गरिने डिआईजी पालले जानकारी दिएका छन् । सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिने डीआईजी पालले बताएका छन् ।
रामजानकी विवाह महोत्सवका लागि जनकपुरमा अहिलेदेखि नै व्यक्तिको चाप बढ्न थालेको छ । प्रत्येक वर्ष विवाह पञ्चमीका दिन जनकपुरमा अत्यधिक भीड लाग्ने गर्दछ । यसपटक भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आउन थालेपछि अहिलेदेखि नै भारतीय नागरिकहरु जनकपुरमा आउन सुरु गरेका छन् ।
स्वदेशी आन्तरिक पर्यटकदेखि भारतका विभिन्न राज्य र अन्य देशबाट व्यक्ति जनकपुर आउन थालेपछि अहिले नै जनकपुरमा अत्यधिक चाप बढेको छ । विवाह पञ्चमीका दिन प्रदेश ट्राफिक प्रहरीलाई जनकपुर केन्द्रित गरी प्रदेश ट्राफिक इन्चार्ज एसपीकै नेतृत्वमा ट्राफिक प्रहरी परिचालन गरिनेछ ।

यसपटकको विवाह पञ्चमीका मुख्य आकर्षणको रुपमा रहेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लखनउँबाट सिधै जनकपुर आउने भएका छन् । उनी आफ्नै विमानबाट सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।
विमानस्थलबाट उनी सिधैं जानकी मन्दिरमा गई पूजापाठ गरेर मुख्य मन्त्रीको सचिवालय भवनमा आयोजना गरिएको दिवा भोजमा सरिक हुनेछन् । यसपछि उनी बाह्रबिघा मैदानमा आयोजना हुने स्वयम्बरमा सहभागी भइ विमानस्थल पुगेर लखनउँ फर्किने कार्यक्रम रहेको छ ।
विवाह पञ्चमीका दिन सवारीसाधन गुडाउन नपाइने रुट
प्रहरीले विवाह पञ्चमीका दिन जनकपुरका बिभिन्न ठाउँमा साना सवारीसाधनलाई समेत चल्न निषेध गर्ने गरी रुट बनाएको छ । उक्त दिन साइकल र मोटरसाइकलसमेत बजार क्षेत्रभन्दा बाहिरै पार्किङ् गर्नुपर्ने छ ।
जनकपुर विमानस्थलदेखि जानकी मन्दिर, जानकी मन्दिरदेखि मुख्यमन्त्रीको सचिवालय रहेको मधेश भवन, मधेश भवनदेखि बाह्रबिघा मैदान र यो मैदानदेखि विमानस्थलसम्मको रुटमा साना
सवारीलाई पनि चल्न नदिइ सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्