निर्मला प्रकरणमा कसैलाई फसाउन खोजेको छैन, त्यस्तो पाए बर्दि खोल्दिनुस्ः आईजिपी
प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कसैलाई फसाएर अन्य कसैलाई जोगाउन नखोजेको दाबी गरेका छन् । सोमबार संघीय संसदको दीगो विकास तथा सुशासन समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रहरी खनालले निर्मला पन्तको हत्यारा पत्ता नलागेको चिन्ताले आफूलाई निन्द्रा समेत नलाग्ने अवस्था आएको बताएका छन् ।
‘निर्मला पन्तको अनुसन्धान जारी छ, त्यही चिन्ताले निन्द्रा पनि नपर्ने अवस्था छ’ आईजीपी खनालले भने, ‘नेपाल प्रहरीको सामथ्र्यले गर्नसक्ने काम गरिरहेका छौं ।’ अनुसन्धान भइरहेको घटनामा विभिन्न तवरबाट अनुसन्धान प्रभावित गर्न खोजिएकोबारे चिन्ता ब्यक्त गर्दै खनालले त्यसरी अनुसन्धान प्रभावित गर्न नखोजेर सबैले सहयोग गरेमा चाँडै परिणाम दिने बताएका थिए ।
सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसद रमेशजंग रायमाझीले प्रहरी प्रमुखले जे भन्यो त्यही मान्ने केन्द्रीय अनुसन्धान ब्यूरोले ‘खनालकै योजनामा नक्कली अभियुक्त खडा गर्न खोजेको हुनसक्ने’ आरोप लगाएका थिए । सांसद रायमाझीको आरोप खण्डन गर्दै आईजीपी खनालले व्यवसायिकताबाट आफू कहिल्यै तलमाथि नगर्ने र त्यस्तो हुन पनि नदिने दाबी गरेका थिए ।
‘निर्मलाको हत्या अनुसन्धानमा कसैको प्रेसर छैन’, खनालले भने, ‘कसैको प्रेसरले अनुसन्धान प्रभावित हुँदैन ।’ सांसदहरुले कुखुरा चोरीमा पक्राउ परेका नक्कली अभियुक्तलाई फसाउन खोजेकोबारे राखेको जिज्ञासामा खनालले आफू र आफ्नो संगठनलाई विश्वास गर्न आग्रह गरेका थिए ।

‘विश्वास गर्नुस्, गलत मान्छेलाई ल्याएर अनुसन्धान टुग्याउनु छैन’ उनको भनाई थियो, ‘अनुसन्धान अधिकृतहरुलाई यसो गर्नुस् भनेर आजसम्म प्रेसर गरेको छैन, गर्नु पनि छैन ।’
सांसदको प्रश्न, ‘आईजी साप कसको दवाव छ, नसके राजीनामा दिनुस्’ समितिको बैठकमा प्रहरी प्रमुखलाई अधिकांश सांसदहरुले कसको दवावमा निर्मलाको हत्यारा पत्ता लगाउन आनाकानी गरिएको भन्दै प्रश्न उठाएका छन् ।
सांसद महेश कुमार महराले सिंगो राज्य संयन्त्रलाई प्रभावित पार्न खोज्ने शक्ति को हो भन्दै प्रश्न गरे । उनले सोधे, ‘तपाईलाई दवाव दिने को हो, भन्नुस हामी लड्न तयार छौं ।’
सांसद प्रमिलादेवी यादवले निर्मलाको हत्या गरेको नाममा नक्कली अभियुक्त पक्राउ गरेर यातना दिने काम बन्द गर्न आग्रह गरिन् । उनले भनिन्, ‘जनतालाई सुरक्षा दिन सक्नुहुन्न भने राजीनामा दिनुस् ।’
सांसद मुक्ता कुमारी यादवले २०७४ चैत २ गते आफ्नो छोरालाई जनकपुरमा हत्या गरिएको तर हालसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रहरी प्रमुख समक्ष गुनासो गरिन् ।
‘तपाईलाई कहाँबाट दवाव आयो ?’ गहभरी आँशु पार्दै यादवले भनिन्–‘दबावमा नपरिकन जनताको जिउधनको रक्षा गर्ने कसम खानुभएको हैन ? तर तपाईलाई अहिले यही दुई तिहाईको सरकारको डर छ ?’
फेसबुकबाट कमेन्ट गर्नुहोस्