सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एकैदिन ३ श्रीमतीसंग सम्बन्धबिच्छेद गरेर एक्लो

बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन् । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरेका छन् । ‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनामा पर्यो’, साहले भने, ‘चौकीबाट छुटेर आएको अर्को दिन तीन वटै पत्नीलाई तलाक दिएको हो ।’

खाँका जेठी र माइली पत्नीबाट ६/६ गरी १२ सन्तान छन् । उनले कार्तिकको दोस्रो साता आफूभन्दा आधा उमेरकी २२ वर्षीया भान्जी सिराजुन निशा जोलाहिनसँग प्रेमविवाह गरका थिए ।

१६ कार्तिकमा रमजान अलि अन्सारीले आफ्नी भान्जी सिराजुनलाई खाँले अपहरण गरेर बेपत्ता बनाएको भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरमा जाहेरी दिएका थिए ।

१५/२० दिन भारतको बहराइच बसेर घर फर्केको बेला ८ मंसिरमा खाँ प्रहरी नियन्त्रणमा परे । उनलाई एक दिन हिरासतमा राखेको इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्सपेक्टर वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।

कान्छी पत्नीले आपूmले राजीखुसी भागेर बिहे गरेको प्रहरीलाई बताएपछि खाँ प्रहरी हिरासतबाट मुक्त भएका थिए । ‘बहुविवाहको जाहेरी पनि परेन । राजिखुसीले बिहे गरेको भन्दा कुनै कारबाही गर्ने कुरै आएन’, इन्सपेक्टर विश्वकर्माले भने, ‘अन्सारीले भान्जीलाई खाँबाट छुटाएर अर्को विवाह गर्न चाहेका थिए । उनीहरू तलाक नै चाहन्थे ।’

बहुविवाह गरेको अभियोगमा जेल जाने डरले खाँले कान्छी पत्नीसँग सम्बन्धविच्छेद गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ‘दुई पत्नी हुँदै तेस्रो बिहे गर्नु कानुनविपरीत भएको थाहा पाएर कान्छीलाई तलाक दियो ।

जेठी र माइली पत्नीले उजुरी दिएर आपूmलाई थुनाए भन्ने झोंकमा उनीहरूलाई पनि तलाक दिएको हुनुपर्छ’, उनले भने, ‘कान्छी भगाएर जाँदा बहुविवाहको जाहेरी देऊ भन्दा पनि जेठी र माइली पत्नीले मानेका थिएनन् । उसलाई भने पत्नीले नै गरेको भन्ने भान भएको हुनुपर्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्