निर्मला काण्ड झन रहश्यमय, फेरी पछि हट्यो प्रहरी
एक–दुई गरेर केही सञ्चार माध्यममा ब्रेकिङ समाचार आयो, ‘निर्मलाको हत्यारा काठमाडौंबाट पक्राउ !’ प्रहरी स्रोतको हवाला दिएर लेखिएको उक्त समाचार कसैले पुष्टि गरिसकेका थिएनन् ।
छिनभरमै अर्को एउटा अनलाइन सञ्चार माध्यममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुष्टि गरेको भन्दै निर्मला पन्तको छिमेकी युवाले बलात्कारपछि हत्या गरेको समाचार बाहिरियो ।
अनि फेरि अर्को अनलाइन सञ्चार माध्यमबाट अभियुक्तको नाम ब्रेक भयो । साँझपख प्रहरी स्रोतबाट चुहिएको सूचना अनुसार प्रदीप रावल (वर्ष १८) लाई महाराजगञ्ज प्रहरीको हिरासतमा राखेर केन्द्रीय अनुसन्धान ब्युरोले इन्टेरोगेसन गरिरहेको खुल्यो ।
रातोपाटी अनलाइनका लागी अपराध बिट हेर्दै आएका पत्रकार राजेश भण्डारीले लेखेका छन्–‘सोही साँझ हामीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्पर्क गरेर सोधेका थियौँ, के हत्यामा संलग्न भनिएको प्रदीप रावल पक्राउ परेका हुन् ?’
रातोपाटीमा प्रकासीत समाचार अनुसार प्रहरी महानिरीक्षक खनालले स्पष्ट जवाफ दिएनन्, अस्पष्ट जवाफ दिँदै उनले भने, ‘अँ, सङ्केत त्यतैतर्फ छ, तपाईंहरूले मिलाएर बुझ्नुस न, सार्वजनिक मुद्दामा थप गरेर सोधपुछ भइरहेको छ क्यारे, सङ्केत त्यतैतिर छ ।’
यति भनेका प्रहरी प्रमुख खनालले प्रदीप रावलको नाम चाहिँ लिएनन् । त्यसअघि केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेका खनालले रावललाई भेटेर फर्केका थिए । त्यसो त त्यसभन्दा अगाडि दुई पटक खनाल सीआईबीमा पुगेका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार निर्मला बलात्कारमा शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको खबर पाउना साथ प्रहरी प्रमुख खनाल सीआईबीमा पुगेर बुझ्ने गरेका छन् ।
प्रदीप पक्राउ परेको पर्सिपल्ट प्रदीपले ‘कुरा गर्दा उत्तेजित भएपछि निर्मलालाई उखुबारीमा लगेर बलात्कार गरेर मारेको’ साविती बयान दिएको समाचार वि.स.२०७५ मंसिर २० मा एक दैनिक पत्रिकामार्फत ब्रेक गराइयो ।
प्रहरीले यसरी पटक–पटक झिनो सूचना चुहाउँदै प्रदीपको बारे आम जनधारणा बुझ्न मिडिया ट्रायल गरिरहेको थियो । तर सामाजिक सञ्जालदेखि सडकसम्म प्रदीप र अर्का बालक विशाल चौधरी (१६ वर्ष) लाई पनि प्रहरीले फसाउन खोजेको आवाज उठेको छ ।
![](https://everestwall.com/wp-content/uploads/2018/10/nirmala-panta-kanchanpur-kanda-1024x775.jpg)
सोमबार सङ्घीय संसदका दिगो विकास तथा सुशासन समितिमा जवाफ दिन उपस्थित भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रदीपको नाम त लिएनन् तर निर्मला पन्त अनुसन्धान न्यारो डाउन हुँदै गएको दाबी गरे । सांसहरूलाई जवाफ दिँदै उनले भने, ‘अनुसन्धान हुँदैछ, अनुसन्धान साँघुरिएको छ ।’
सीआईबीका डीआईजी र एसपीको कुरा बाझिएपछि !
केन्द्रीय अनुसन्धान ब्युरोले ७ दिनदेखि सोधपुछ गरिरहेका प्रदीपले पहिलो ‘म त झ्याप थिएँ, मलाई त थाहा नै छैन’ भन्ने बयान दिएका छन् । प्रदीप लागू औषध सेवनकर्ता हुन् । पछिल्लो समय उनले ‘मलाई काटे नि काट्नुस, मारे नि मार्नुस्, मैले हुँदै होइन’ भन्न थालेको प्रहरी स्रोतको भनाइ छ ।
प्रदीपसँगै केन्द्रीय अनुसन्धान ब्युरोले १६ वर्षीय विशाल चौधरीमाथि पनि अनुसन्धान गरिरहेको छ । उमेर नपुगेका कारण विशाललाई हिरासतमा राखिएको छैन ।
प्रहरीले अहिलेसम्म १३ जनाको डीएनए परीक्षण गरिसकेको छ । पछिल्लो सयम प्रदीप, विशाल र अर्का एकजनाको डीएनए परीक्षणका लागि ‘ब्लड स्याम्पल’ पठाइएको छ ।
निर्मला बलात्कारपछि हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डीआईजी) निरज शाही र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतको कुरा बाझिएको छ ।
मङ्गलबार रातोपाटी अनलाइनसँग कुरा गर्दै केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख निरज शाहीले अनुसन्धान क्रमशः चलिरहेको उल्लेख गर्दै भनेका छन्–‘हामीले त यहाँबाट प्राविधिक कुराहरूमा मात्र सपोर्ट गरिदिने हो, बाँकी अनुसन्धान जिल्लाले गरिरहेको छ ।’
‘अहिले कतिजना शङ्कास्पदहरूसँग सोधपुछ भइरहेको छ ?’ भन्ने जिज्ञासामा आफूलाई केही थाहा नभएजस्तो गरी डीआईजी शाहीले भने, ‘हामीले त यहाँ सोधपुछ गर्दैनौँ, सोधपुछ जति हुन्छ उतै हुन्छ, ल्याएको ल्याइ छ उता त धेरै छन् ।’
प्रदीप र विशालको डीएनए रिपोर्ट आए नआएको सम्बन्धमा डीआईजी शाही भन्छन्, ‘डीएनए रिपोर्ट आए नआएको हामीलाई थाहा हुन्न, विधि–विज्ञानबाट सीधै जिल्लामा जान्छ । त्यसपछि मात्र हामीले थाहा पाउँछौँ, बीचमा कसैले खोल्नै मिल्दैन ।’
निरज शाहीको प्रतिक्रियापछि हामीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतलाई सम्पर्क गर्यौँ । ‘अहिले कतिजनासँग सोधपुछ भइरहेको छ ?’ भन्ने जिज्ञासामा कडायतले भने, ‘काठमाडौँमा त्यही दुई जनासँग मात्र इन्टेरोगेसन भइरहेको छ, शङ्कास्पदहरूलाई ल्याएर सोधपुछ त गर्छौँ तर अरूलाई थुनामा राखेको छैन ।’
निरज शाहीले अनुसन्धानको सबै काम कञ्चनपुरमा भइरहेको बताए पनि एसपी कडायतले जिल्लामा हैन काठमाडौँबाट सबै काम भइरहेको बताए । उनले भने, ‘सोधपुछ लगायतको अनुसन्धान काठमाडौँमा भइरहेको छ, यहाँ हैन ।’
प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट आइनपुगेको उनले जानकारी दिएका छन् । बहुप्रतीक्षित निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानको नेतृत्व केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशक (डीआईजी) निरज शाहीले गरेका छन् ।
शाहीको प्रत्यक्ष कमान्डमा रहनेगरी प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा कञ्चनपुरमा काविल अफिसरहरूको अर्को एउटा टोली खटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी नायव उपरिक्षक (डीएसपी) कमल थापा, महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा दाहालसहित १५ जनाको टोली कञ्चनपुरमा बसेर निर्मला बलात्कार–हत्या अनुसन्धान गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत डीएसपी कृष्ण ओझा निर्मला प्रकरणमा अनुसन्धान अधिकृत तोकिएका छन् । काठमाडौंमा केन्द्रीय अनुसन्धान ब्युरोको टिमसँग जोडिएर आर्थिक प्रशासन महाशाखाका प्रमुख (एसएसपी) प्रकाश अधिकारीले काम गरिरहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार ब्युरोका डीएसपी निरन्जनदत्त भट्ट र ब्युरोमा वन्यजन्तुबारे अनुसन्धान गर्दै आएका अनुपम राणाले पनि निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्