सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पृथ्वीनारायण शाहको तरवार चोरी, नक्कली राखियो

देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका–५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाँचेर लगिएको थियो ।

‘बालाचतुर्दशीको राति चौसट्ठीमा बत्ती बाल्ने भीड थियो,’ स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले भने, ‘भोलिपल्ट सात बजे हेर्दा तरबार देखिएन । हाकिमलाई जानकारी गराएँ ।’

तरबार नदेखिएपछि नजिक रहेको देवीघाट प्रहरी चौकीलाई खबर गरेर खोजबिन गर्दा नभेटिएको उनले बताएका छन् । तरबार चोरिएपछि श्रीपेच चोरी हुने डर उनलाई छ । ‘श्रीपेच त सजिलै फुत्त आउँछ,’ उनले भने, ‘राति यहाँ बत्ती राख्न भनियो । कसैले सुनेनन् ।’

शालिक रहेको ठाउँ राति अन्धकार हुन्छ । वरिपरि हुर्केका सिसौँ, आँप, कटहर, लिच्चीका रूख र बोट छन् । त्यसले छेकेको छ । ‘खोजेको खोज्यै छौं,’ हेरालु नेपालले भने, ‘भेटिएको छैन ।’

तरबार चोरी भएपछि नक्कली तरबार राख्दै स्थानिय । 

प्रहरीचौकी देवीघाटका इञ्चार्ज युवक गिरीले स्मारक वरिपरि, बजार क्षेत्र, त्रिशूली नदी किनार सबै ठाउँ खोजिएको बताएका छन् । राजा पृथ्वीनारायण शाहले साना राज्य एकीकरण गरेपछि अन्तिम समय १८३१ माघ १ गते यही शालिक रहेको ठूलो ढुंगामा देहत्याग गरेको इतिहास छ ।

पछि सोही ढुंगामा पश्चिम मोहडा फर्किएको शालिक राखिएको थियो । स्मारक ७ रोपनी जग्गामा फैलिएको छ । स्मारकमा यहाँ आउने स्वदेशी तथा विदेशीले पर्यटकले शालिकमै गएर फोटो खिच्ने गर्छन् ।

स्मारक वरिपरि लगाइएको पर्खाल होचो छ । चारैतिर ढोका छन् । ती ढोकाहरूमा खिया लागेर पुराना भएका छन् । स्मारक रेखदेखका लागि पालेघर भए पनि भूकम्पले भत्केको छ । तरबार चोरी भएपछि नक्कली तरबार राखिएको छ ।

देवीघाटका स्थानीय शिव रिजालले फलामे तरबार नट बोल्टले जोडेर राखेको बताएका छन् । ‘पुरानो तरबार किटको हालेको रहेछ,’ उनले अनुमान लगाउँदै भने, ‘त्यो तरबार एक÷दुई जनाले भाँच्न सक्ने खालको देखिँदैन ।’ नक्कली तरबार विदुर नगरपालिकाले भनेर आफूले बनाई हालेको रिजालले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS