सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गुगलमा ‘इडियट’ सर्च गर्दा ‘डोनाल्ड ट्रम्प’को फोटो

गुगलको सर्च अल्गोरिदमले कसरी काम गर्छ भनेर बुझ्ने प्रयासमा एक डेमोक्रेटिक सांसदले उक्त कम्पनीका सीईओलाई एक साधारण प्रश्न सोधिन्–‘यदि तपाईले तस्विरको तल ‘इडियट’ गुगल गर्नुभयो भने डोनाल्ड ट्रम्पको तस्विर आउँछ । त्यो कसरी हुन्छ ? सर्चले के गरेर त्यस्तो सम्भव हुन्छ ?’

गोप्यता र तथ्यांक संकलन सम्बन्धमा प्रविधि कम्पनीका प्रमुखहरुलाई अमेरिकी संसद कंग्रेसमा बोलाएर हाल भइरहेको सुनुवाईबीच क्यालिफोर्निया राज्यकी डेमोक्रेटिक पार्टीकी प्रतिनिधि जोई लोफग्रेनले आफ्नो प्रश्नलाई पुष्टि गर्नको लागि डाईसबाटै ‘इडियट’ सर्च गरिन् । नभन्दै तस्विरको सर्च परिणामका अधिकांश फोटो ट्रम्पको थियो ।

मंगलबार गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाई अमेरिकी कंग्रेसको न्यायिक समिति अघि सुनुवाईका लागि उपस्थित थिए । प्रश्न सुनेपछि उनले कोठाभरि रहेका प्रविधि सम्बन्धमा आलोकाँचा सांसदहरुलाई अल्गोरिदमले कसरी लगभग २०० तत्वलाई आधार बनाएर सर्च परिणाम देखाउँछ भनेर व्याख्या गर्ने प्रयास गरे ।

उनले ती तत्वहरुमा महत्वपूर्ण कुरा उपयुक्तता, लोकप्रियता, अरुले सर्च गर्दा धेरै प्रयोग गर्ने पदावालीको उल्लेख गर्दै यी कुराहरुले सबैभन्दा उपयुक्त परिणाम प्रदान गर्ने बताए ।

‘त्यसो भए प्रयोगकर्ताहरुलाई के देखाउने भन्ने कुरा कुनै एकजनाले पर्दा पछाडि बसेर निर्धारण गर्दैन होइन त ? यो प्रयोगकर्ताहरु आफैंले गरेको सर्चले निर्धारण गर्छ ?’ जोफ्ग्रेनले ठट्टा गर्दै सोधे । गुगलका कर्मचारीहरुले राजनीतिक उद्देश्यबाट प्रेरित भएर सर्चलाई प्रभावित गर्नेबारे रिपब्लिकनहरुले राखेको प्रश्नमा जोफ्ग्रेनले यो प्रतिक्रिया दिएका थिए ।

यो सुनुवाईका क्रम सांसदहरुमा इन्टरनेटले कसरी काम गर्छ भन्ने अत्यन्त कम जानकारी भएको देखिइरहेको थियो । त्यही भएर उनीहरुको प्रश्न गुगलका सर्चबारेमा नै बढी केन्द्रित भइरहेको थियो ।

एक प्रसंगमा टेक्ससका रिपब्लिकन प्रतिनिधि लामार स्मिथले पिचाईलाई उनले विगतमा कुनै समय सर्च परिणाम बदल्न निर्देशन दिएका थिए भनेर सोधे ? जवाफमा पिचाईले कुनै एक व्यक्ति अझ केही व्यक्तिहरुको एक समूहले सर्चलाई प्रभावित पार्न नसक्ने बताए ।

तर स्मिथले पिचाईको उक्त व्याख्यालाई स्वीकारेनन् र पुनः प्रश्न गरे, ‘म तपाईको कुरा अस्वीकार गर्छु । मेरो विचारमा मानिसहरुले यो प्रक्रियालाई प्रभावित बनाउन सक्छ । यसको आधारमा मानवीय प्रक्रिया छ ।’ प्यानेलमा रहेका रिपब्लिकन सांसदहरु गुगलभित्रका केही मानिसहरुले राजनीतिक लाभको लागि सर्च परिणाम प्रभावित पार्न सक्छन् भन्ने हल्लाबाट मुक्त हुन सकेका थिएनन् ।

ओहायोका रिपब्लिकन प्रतिनिधि स्टिभ चबोटले यसैसम्बन्धी एउटा कुरा सोधे । उनले आफूले गुगलमा रिपब्लिकन हेल्थकेयर विल खोज्दा अथवा आफ्नो पार्टीको कर कटौतीबारे खोज्दा सुरुमा आउने कैयन पेज नकारात्मक हुने गरेको गुनासो गरे ।

‘तपाईको कम्पनीले कन्जरभेटिभ धारणा र नीतिबिरुद्ध लिएको यो सरासर पूर्वाग्रहलाई के भन्नुहुन्छ ? के यो अल्गोरिदमले मात्र गरेको हो अथवा त्यहाँ भित्र अरु पनि खेल पनि हुन्छ ?’ चबोटले सोधे ।

‘नकारात्मक समाचार देख्दा देख्दाको तपाईहरुमा निराशा आएको म बुझ्न सक्छु,’ पिचाईले उनको जवाफ दिँदैं भने, ‘हाम्रोमा जे हुन्छ केही निश्चित नियम अन्तर्गत रहेर हुन्छ । यथार्थलाई वस्तुपरक रुपमा राख्दा हामीहरुलाई नै फाइदा हुन्छ । म तपाईहरु सामु प्रतिबद्धता व्यक्त गर्छुकि हाम्रो कम्पनीमा जे हुन्छ तिनको राजनीतिक विचारधारासँग कुनै लिनुदिनु हुन्न् । अल्गोरिदमको कुनै राजनीतिक झुकाव हुँदैन ।’

तर चबोट उनको कुरामा सहमत भएजस्तो देखिएनन् । पिचाईको कुरा सुनिसकेपछि उनले कन्जरभेटिभहरुमाझ गुगलले ‘राजनीतिक बहसमा जित्ने र हार्ने उमेद्वार चुन्ने गरेको’ विश्वास रहेको बताए । ‘यहाँ उपस्थित धेरैले मैले भनिरहेको कुरा अहिले भइरहेको विश्वास गर्छन,’ चबोटले भने, ‘र म आफैंलाई पनि यो भइरहेको लाग्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS