पाल्पामा सुत्केरी बोकेको जिप दुर्घटना, ५ को मृत्यु
पाल्पाको तानेसेनबाट सुत्केरी लिएर माथागढी गाउँपालिकाको बहादुरपुरतर्फ जादैँ गरेको लु १ च २६५३ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिप चालक वर्ष २० का विरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवत बहादुर जिसी र ४१ वर्षकी भुमीकुमारी दर्लामी रहेका छन् ।
मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् । सुत्केरी दर्लामीको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पताल स्रोतले जनाएको छ ।
रातीको समयमा साँघुरो र अप्ठेरो बाटोमा खरायोलाई पिछा गर्ने क्रममा भित्तामा ठोकिएर दुर्घटना भएको घाइतेलाई उदृत गर्दै स्थानीय एवम वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिएका छन् ।
जिप करिब ३ सय मिटर तल खोँचमा खसेको छ । तानसेनबाट जाल्पा हुँदै माथागढीको बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप राति ९ बजे आसपासतिर दुर्घटनामा परेको थियो ।
घाइते ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये शान्ता रुचालको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । घटनास्थल सदरमुकाम तानसेनबाट ६० किलोमिटर पूर्व दक्षिण रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।
प्रहरीका अनुसार जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल खसेको थियो । रातिको समय, कच्ची सडक र दुर्घटनास्थल भीर भएका कारण ठूलो क्षति भएको पाल्पा प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्