सुचना चुहाएपछी फेसबुकलाई कारबाही गर्दै अमेरिका
अमेरिकाले फेसबुकविरुद्ध पहिलोपटक महत्वपूर्ण कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । राजधानी वासिङ्टन डीसीका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनालिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिकालाई दण्डित गर्ने उद्देश्यका साथ फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन् ।
फेसबुकले चाहिँ डिस्ट्रिक्ट अफ कोलम्बियाका महान्यायाधीवक्ताले बुधवार दर्ता गरेको मुद्दाबारे अध्ययन गरिरहेको बताएको छ । महान्यायाधीवक्ता कार्ल रासिनले दायर गरेको अभियोगमा फेसबुकविरुद्ध करोडौँ प्रयोगकर्ताका व्यक्तिगत विवरण दुरुपयोग गरेको उल्लेख गरिएको छ ।
फेसबुकका क्रियाकलाप र लापरबाहीका विषयमा यस अघि पनि केही अनुसन्धानहरू भइसकेका छन् । फेसबुकका एक प्रवक्ताले चाहिँ आफ्नो फर्म विरुद्धको अभियोगको अहिले अध्ययन भइरहेको बताएका छन् ।
उनले बीबीसीलाई भने अभियोगका सम्बन्धमा वासिङ्टन डीसी र अन्य स्थानमा रहेका कानुनविद्हरूसँग परामर्श लिने काम भइरहेको छ । पछिल्लो अभियोगका अतिरिक्त फेसबुकमाथि अमेरिकाको न्याय मन्त्रालय, सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन र फेडेरल ट्रेड कमिशन जस्ता आयोगहरूले छानबिन गरिरहेका छन् ।

ब्रिटेनमा चाहिँ क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकको भूमिकालाई लिएर पाँच लाख पाउन्ड जरिवाना गरिएको थियो । त्यो ब्रिटेनको डेटा नियामक निकायले असुलेको अधिकतम जरिवाना थियो । फेसबुकको सुरक्षा कमजोरीका विषयमा आयरल्याण्डमा पनि अनुसन्धान जारी छ । त्यहाँ पनि फेसबुक समस्यामा पर्न सक्छ ।
फेसबुकका अनेक सुरक्षा कमजोरीहरूमाथि अनुसन्धान गरिरहेको आइरिस तथ्याङ्क सुरक्षा नियामक निकायले फेसबुकलाई झन् धेरै समस्यामा पार्ने देखिएको छ । सो अनुसन्धान युरोपको नयाँ गोपनीयता सम्बन्धी नियमहरूको कार्यान्वयनको पहिलो, महत्वपूर्ण र ठूलो परीक्षण मानिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्