गोरेको ३३ किलो सुन भारतले नेपाललाई नदिने भयो
सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ को समूहले गत माघमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको ३३ किलो सुन भारतको कलकत्तामा त भेटियो, तर उक्त नेपाल कसरी ल्याउने भन्नेबारे अन्यौल सिर्जना भएको छ ।
भारतीय डिआरआई (राजस्व अनुसन्धान विभाग) ले ७ डिसेम्बर २०१८ मा दिल्ली–कलकत्ता हाईवेस्थित दानकुनी टोल प्लाजामा नेपालको विभानस्थलबाट बाहिरिएको भनिएको ३३ किलो सुन बरामद गरेको थियो ।
मारुती स्विफ्ट कार सर्च गर्दा फेला परेको ठूलो परिमाणको उक्त सुन विदेशबाट आएको र सुन लिएर हिँडेका दुईजना नेपाली नागरिक भएको पुष्टि गर्दै डिसेम्बर १३ मा भारतिय पक्षले कलकत्तास्थित महावाणिज्य दूतलाई पत्र पठाएको छ ।
भारतीय राजस्व अनुसन्धान निर्देशनालयले यसरी नेपाली नागरिकबाट सुन बरामद गरेको कुरा जानकारी गराएसँगै गृह–मन्त्रालय मातहतको तत्कालिन सुन तस्करी छानविन समितीले यसबारे चासो राखेको छ ।
कलकत्ताका महावाणिज्यदुत एकनारायण अर्याल मार्फत भारितय पक्षसँग पटक–पटक कुराकानी हुँदा बरामद भएको ३३ किलो सुनमा ‘युएई गोल्ड’ को ट्रेडमार्क रहेको पुष्टि भएको तत्कालिन छानविन समितीका एक सदस्यले जानकारी दिएका छन् ।
२०७४ माघमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन ‘गोरे’ को समुहले दुबईबाट ल्याएको अनुसन्धानबाट खुलेको थियो । ३३ किलो सुनको दसी देखाउन नसकेपछि अदालतले अभियुक्तहरुलाई धमाधम साधारण तारेखमा छाडेको परिवेशमा अचानक सुन फेला परेपछि उक्त सुन नेपाल ल्याउने प्रयास गरिएपनि भारतीय राजस्व अनुसन्धान निर्देशनालयले उक्त सुन नदिने भएको छ ।
१० करोड ४२ लाख भारतीय रुपैयाँ कुल मूल्य रहेको उक्त सुनसहित डिआरआईले राकेस प्रसाद र हेम प्रसाद शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । राकेश र हेमलाई नेपाल ल्याउन परराष्ट्र मन्त्रालय मार्फत दुई देशको बीचमा कुराकानी अगाडी बढेको बताइएको छ ।
कलकत्तामा सुन सहित समातिएका नेपाली नागरिकहरु राकेश प्रसाद र हेम प्रसाद शर्माको नाम मृतक शनम शाक्यको डायरीमा रहेको पाइएको छ । सुन तस्करी अनुसन्धानमा संलग्न प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त लामाका अनुसार अनुसन्धानका क्रममा शाक्यको डायरीमा राकेश र हेमको नाम फेला परेको थियो ।
सन् २०१५ सम्म भारतमा बसेका हेम प्रसाद शर्मा त्यसपछि परिवारसहित नेपाल आएका थिए । ३३ किलो सुन, ५४ हजार ७६० भारतिय रुपैयाँसहित पक्राउ परेका राकेश र हेमलाई भन्सार ऐन १९६२ बमोजिम अनुसन्धान भइरहेको डिआरआईले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्