सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मोनोरेल बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने जिम्मेवारी चाईना रेल वे २५ औं व्यूरो ग्रुप कम्पनी (सीआरसीसी) लाई दिइएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र सीसीआरसीका प्रमुख झ्यू ग्वाङबीङबीच काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालनका लागि डिपीआर तयार पार्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

एक वर्षभित्र डिपीआर तयार पारिसक्ने गरी समझदारी गरिएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले जानकारी दिए । ३ वर्षभित्र सो रेल सेवा काठमाडौं र ललितपुर महानगरपालिकाभित्र रहेको चक्रपथमा सञ्चालन गर्ने योजना बनाइएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले संघीय सरकार र प्रदेश सरकारको समेत सक्रियतामा मोनोरेलको डिपीआर तयार पार्ने सहमति पत्रमा समझदारी गरिएको स्पष्ट पारेका छन् ।

डिपीआरको खर्च पनि चिनियाँ कम्पनी सिआरसीसीले नै व्यहोर्नेछ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले सो प्रतिवेदन ६ महिनाभित्रै आउने विश्वास व्यक्त गर्दै त्यसपछि तत्काल मोनोरेल सञ्चालन मार्ग निर्माणको काम सुरु हुने पनि स्पष्ट पारे ।

उनले मोनोरेल सेवा निर्माणका लागि टेन्डर आह्वान गरेर प्रक्रिया अघि बढाउने योजना पनि सार्वजनिक गरेका छन् । कार्यक्रममा बोल्दै चिनियाँ कम्पनी सिआरसीसीका प्रमुख झ्यूले डिपीआरसहित मोनोरेल सेवा सञ्चालनका लागि निर्माण कार्य पूरा गर्न ५ वर्ष समय लाग्ने बताएका थिए ।

यता, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मोनोरेल सञ्चालन गर्ने आफूहरुको सपना पूरा गर्न चिनिया कम्पनी सीआरसीसीमार्फत सफल हुने विश्वास व्यक्त गरे । उनले सो रेल सेवा सञ्चालनका लागि संघीय सरकार र प्रदेश सरकारको पनि सहायता लिने स्पष्ट पारे ।

यस अघि सीसीआरसीले नै सो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन तयार पारेको थियो । अध्ययनअनुसार काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ भित्र मोनोरेल सञ्चालनका लागि करिब १ खर्ब १६ अर्ब लाग्नेछ ।

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले सो भन्दा कम लागतमा मोनोरेल सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । मोनोरेल सञ्चालन भएसँगै काठमाडौंमा ट्राफिक जामको समस्या सदाका लागि समाधान हुने विश्वास गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्