सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जंगलमा पाईने कालिजको मासु शहरका भान्सामा

जंगलतिर पाईने कालिज अब जंगलमा मात्रै सीमित रहेन । शहर बजारमा व्यावसायिक कालिज फार्म खुल्न थालेपछि यो पन्छीको मासु र अन्य परिकार सहजै उपलब्ध हुन थालेको छ ।

काठमाडौंमा एभरेस्ट वाइल्ड लाइफ एग्रो एन्ड रिर्सच सेन्टरले मासु र आफ्नै रेस्टुरेन्टमार्फत परिकार उपलब्ध गराउन शुरू गरेको छ । कम्पनीले डेढ केजी हाराहारीको कालिज ३ हजार ५ सय रुपियाँमा उपलब्ध गराउन थालेको छ ।

गत असार तेस्रो साताका चल्ला अहिले वयश्क भएपछि मासु बिक्री गर्न शुरू गरिएको सेन्टरका प्रबन्ध निर्देशक बाबुराम श्रेष्ठले बताएका छन् । उनले भनेका छन्–‘मासु बिक्री गर्न शुरू गरेको एक महिना हुन लाग्यो । कालिजको परिकारका लागि केही दिनअघि बागबजारमा कालिज रेस्टुरेन्ट पनि खुलेको छ ।’

कालिज फार्म सञ्चालनका लागि पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत लिने यो पहिलो कम्पनी हो । कम्पनीले बिक्री–वितरण गर्ने कालिज नेपालका वन–जंगलका भने होइनन् ।

कम्पनीले इटालीबाट ‘रिङनेक’ प्रजातिको कालिजका १० हजार २ सय अन्डा ल्याएर काठमाडौंको दक्षिणकाली नगरपालिका–४ चाल्नाखेलमा जग्गा भाडामा लिएर व्यावसायिक फार्म शुरू गरेको हो ।

इटालीबाट ल्याइएका अन्डा काठमाडौंकै ह्याचरीमा बच्चा कोरल्दा करिब ४५ प्रतिशत मात्रै सफल भएकाले फार्ममा हुर्किएका पोथीबाटै अन्डा कोरल्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।

उनले भने–‘यहाँकै हावापानीमा हुर्किएका पोथीबाट संख्या बढाउने तयारी गरेका छौं, त्यसैले अहिले मासुका लागि भाले र अन्डा पार्न अयोग्य पोथी बिक्री गर्दै आएका छांै ।’ स्टार होटल र केही रेस्टुरेन्टले नियमित मासु उपलब्ध गराउन आग्रह गरे पनि यो वर्ष सम्भव नहुने श्रेष्ठको भनाइ छ ।

१८ वर्षसम्म इटली बसेका सेन्टरका प्रबन्ध निर्देशक श्रेष्ठले त्यहीं कालिज पालनको तालिम लिएपछि अन्य सहकर्मी उनीसंगै सहकार्य गर्न तत्पर भएका हुन् । भन्सार र क्वारेन्टाइन प्रक्रिया पूरा गरी पशुपन्छी विकास मन्त्रालयबाट व्यवसाय सञ्चालनको इजाजत लिएपछि कालिज पालनका लागि अन्य कानुनी अड्चन नरहेको कम्पनीका अध्यक्ष सुशील भट्टराईले बताएका छन् ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (साइटिस) ले प्रतिबन्ध गरेबाहेकका जीवजन्तुको व्यापारिक कारोबार गर्न समस्या नरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । नेपालमा व्यावसायिक कालिज पालनको अभ्यास ३ वर्षअघि पोखरामा वाइल्ड लाइफ फुड प्रोडक्ट प्रालिले शुरू गरेको थियो ।

केही समययता काठमाडौैंको मच्छेगाउँमा पनि कालिज पालन शुरू भए पनि अन्य कम्पनीको दर्ता प्रक्रिया पूरा नभएको पशुसेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले जानकारी दिएका छन् । उनले भनेका छन्–‘यस्तो व्यावसाय सञ्चालनको इजाजत लिने एभरेस्ट वाइल्ड लाइफ पहिलो कम्पनी हो, अन्य प्रक्रियामा छन् ।’

नेपालमा चिलिमे, मुनाल, फोक्रास, डाँफे, लुइचे, कालिज, चिर र मुजुरसहित ८ प्रजातिका कालिज अभिलेख भएका छन् । तीमध्ये डाँफे, मुनाल, चिरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित सूचीमा सूचीकृत गरेको छ ।

जंगलको कालिज फार्ममा र फार्मको कालिज जंगलमा लान÷ल्याउन नमिल्ने गरी पशुपन्छी मन्त्रालयले इजाजत दिएको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् । विकसित मुलुकमा साइटिस सूचीमा सामेल नभएका कालिज र अन्य पन्छी कुखुरा र हाँस पाले सरह पाल्ने गरिए पनि नेपालमा त्यस्तो खुकुलो अभ्यास छैन ।

नेपालमा उपलब्ध भएका र संरक्षित सूचीमा नरहेका कालिजलाई व्यावसायिक रूपमा पाल्न दिने कानुनी पक्ष सहज छैन । अहिले नेपालमा पनि कालिज पालनको व्यावसायिक अभ्यास शुरू हुँदै गर्दा रैथाने र आयातित पन्छी ‘क्रस’ भएको खण्डमा विभिन्न चुनौती थपिने सक्ने पन्छीविद्हरूको तर्क छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्