सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गोरखाको आगो नियन्त्रणबाहिर, जनावर खरानी

गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको जंगलमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार रातिदेखि लागेको डढेलो सोमबार साँझसम्म पनि नियन्त्रणमा आउन नसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले बताएका छन् ।

मनास्लु पदमार्गमा आएका गाइडले खाएर फालेको चुरोटको ठुटोका कारण आगलागी भएको बताइएको छ । पूर्ण रुपमा प्रतिवन्धित उक्त वन क्षेत्रमा भएको आगलागीका कारण हालसम्म दुर्लभ जातका पाँच वटा कस्तुरी मरिसकेको लामाले जानकारी दिएका छन् ।

लामाले भनेका छन्–‘अहिले सम्म पाँच वटा कस्तुरी मरेको भेट्यौ । आगो नियन्त्रणमा नआएकाले कति क्षति भयो भन्ने यकीन गर्न गाह्रो छ ।’ आगलागीका कारण थप वन्यजन्तु मरेको हुनसक्ने बताइएको छ । स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर आगो नियन्त्रण वाहिर गएपछि स्थानीयहरु घर फर्केका छन् ।

लामाले भने–‘आगो फैलिएर वीरेन्द्र तालको क्षेत्रसम्म पुगिसक्यो, भीर भएकाले तलबाट आगो निभाउन सक्ने अवस्था नै छैन, प्रहरीको संख्या पनि कम छ, अब हेलिकोप्टरबाट पानी हालेर निभाउन सके मात्र सम्भव छ ।’

आगलागीका कारण वन क्षेत्रमा रहेको धुपी, सल्ला, भोजपत्र लगायत अन्य वहुमुल्य जडिवुटीसमेत नष्ट भएका छन् । आगो नियन्त्रणमा नआएसम्म क्षतिको यकीन विवरण संकलन गर्न नसकिने बताइएको छ । हिमाली क्षेत्रमा हावाको वहाव बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको उनको भनाइ छ ।

आइतबार रातिदेखि भएको आगलागी सोमबार साँझसम्म पनि नियन्त्रणमा नआएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग हेलिकोप्टर माग गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले भने–‘हेलिकोप्टर माग गरेका थियौं, आज अन्य जिल्लामा पनि ठूलो आगलागी भएकाले समस्या भयो, हामीले हाम्रो तर्फबाट सक्दो पहल गरिरहेका छौ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS