सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोरखाको आगो नियन्त्रणबाहिर, जनावर खरानी

गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको जंगलमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार रातिदेखि लागेको डढेलो सोमबार साँझसम्म पनि नियन्त्रणमा आउन नसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले बताएका छन् ।

मनास्लु पदमार्गमा आएका गाइडले खाएर फालेको चुरोटको ठुटोका कारण आगलागी भएको बताइएको छ । पूर्ण रुपमा प्रतिवन्धित उक्त वन क्षेत्रमा भएको आगलागीका कारण हालसम्म दुर्लभ जातका पाँच वटा कस्तुरी मरिसकेको लामाले जानकारी दिएका छन् ।

लामाले भनेका छन्–‘अहिले सम्म पाँच वटा कस्तुरी मरेको भेट्यौ । आगो नियन्त्रणमा नआएकाले कति क्षति भयो भन्ने यकीन गर्न गाह्रो छ ।’ आगलागीका कारण थप वन्यजन्तु मरेको हुनसक्ने बताइएको छ । स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर आगो नियन्त्रण वाहिर गएपछि स्थानीयहरु घर फर्केका छन् ।

लामाले भने–‘आगो फैलिएर वीरेन्द्र तालको क्षेत्रसम्म पुगिसक्यो, भीर भएकाले तलबाट आगो निभाउन सक्ने अवस्था नै छैन, प्रहरीको संख्या पनि कम छ, अब हेलिकोप्टरबाट पानी हालेर निभाउन सके मात्र सम्भव छ ।’

आगलागीका कारण वन क्षेत्रमा रहेको धुपी, सल्ला, भोजपत्र लगायत अन्य वहुमुल्य जडिवुटीसमेत नष्ट भएका छन् । आगो नियन्त्रणमा नआएसम्म क्षतिको यकीन विवरण संकलन गर्न नसकिने बताइएको छ । हिमाली क्षेत्रमा हावाको वहाव बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको उनको भनाइ छ ।

आइतबार रातिदेखि भएको आगलागी सोमबार साँझसम्म पनि नियन्त्रणमा नआएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग हेलिकोप्टर माग गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले भने–‘हेलिकोप्टर माग गरेका थियौं, आज अन्य जिल्लामा पनि ठूलो आगलागी भएकाले समस्या भयो, हामीले हाम्रो तर्फबाट सक्दो पहल गरिरहेका छौ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्