प्रधानमन्त्री ओलीले किन भने आफुलाई ‘चल्लो’
नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ४३ नेतालाई कुखुराको चल्लाको संज्ञा दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउन माग गर्दै हस्ताक्षर बुझाउने नेतालाई उनले चल्लाको संज्ञा दिएका हुन् ।
‘एउटा चल्लोले भुइँमा ठुँगेपछि सबै चल्ला उसको पछि दौडिन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘दिगम्बर झाको केसमा मेरो मुखमा चारो पर्नु न नपर्नु, सबै चल्ला मेरो पछाडि कुदेर हैरान खेलाए । चल्ला मेरो अघिपछि लागेको लाग्यै गरे ।’
ओलीले सर्वोच्च अदालतमा दायर भएको रिट फिर्ता गरेर फेरि आवेदन दिएपछि उनलाई नियुक्त गरेको प्रष्ट पारेका छन् । ‘रिट फिर्ता गरेर ब्याक भएका झाले फेरि भ्रष्टाचार नगर्लान भन्ने ठानेर नियुक्त गरिएको हो’, ओलीले स्पष्टिकरण शैलीमा भने, ‘तर, आजै उहाँले राजीनामा दिएको जानकारी यहाँहरुलाई गराउन चाहन्छु ।’
![](https://everestwall.com/wp-content/uploads/2018/12/kp-oli-prachanda-madhav-jhalanath-1024x587.jpg)
नेकपा नेताहरुले भने विवादमा मुछिएका व्यक्तिलाई फेरि नियुक्ति गर्दा गलत सन्देश गएको भन्दै हस्ताक्षर बुझाएको दाबी गरेका छन् । ‘बदनाम मान्छेलाई नराख्नु भनेर हामीले दबाब दिएका थियौँ’, बैठकपछि कुरा गर्दै नेकपा नेतृ रामकुमारी झाँक्रीले भनिन्, ‘त्यसको सुनुवाइ सरकारले गरेको छ । अब सरकारले सही बाटो समाएको महसुस हामीले गरेका छौँ ।’
बैठकमा ओलीले राजनीतिक आन्दोलन सफल हुने तर उपलब्धि संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । ओलीले सांसदलाई सरकारका काम कारबाहीको बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशनसमेत दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्