पानिजहाज, रेल सबै आउँछ, निराश हुनुपर्दैनः कोमल
राजावादी केही पार्टीमा जाने हल्ला हुँदाहुँदै तत्कालीन नेकपा एमालेमा प्रवेश गरेकी नेकपाकी नेतृ कोमल ओलीले आमजनताले महसुस गर्ने गरी परिवर्तन आउने बताएकी छन् । न्यूज २४ टेलिभिजनसँगको अन्तर्वार्तामा उनले नेकपाले पाएको बहुमतको सही सदुपयोग गर्ने प्रयास भइरहेको बताएकी छिन् ।
उनले भनेकी छिन्–‘नेकपाले जनताको बहुमतको सही सदुपयोग गर्नेछ, जनता निराश हुनु पर्ने कुरै छैन । सरकार सफलताको बाटोमा छ, परिणाम आउन मात्रै बाँकी छ ।’ प्रतिनिधि सभाकी सांसदसमेत रहेकी ओलीले जनताले अनुभूत गर्न सक्ने गरी परिवर्तन आउने दाबी गरेकी छिन् ।
कुराकानीमा उनले भनिन्–‘परिवर्तनको आमजनताले महसुस गर्ने छन् । कोही–कोहीले पानीजहाज किन नआएको, रेल किन नआएको भन्दै प्रश्न गर्छन्, यी सबै आउने क्रममा छन् ।’ वर्तमान सरकारले काम गर्न नसके जनताको कठघरामा उभिने ठाउँ भएको समेत बताइन् ।
![](https://everestwall.com/wp-content/uploads/2017/09/komal-oli.jpg)
राजनीतिमा आउनुभन्दा पहिले नै बेग्लै छवि बनाइसकेकी ओलीले राजनीति देशको मूल नीति बनाउने र देशलाई मार्ग निर्देश गर्ने नीति भएको बताइन् । उनले भनिन्–‘राजनीति भनेको सेवा हो, भावनाले अभिप्रेरित हुनुपर्छ । सानैबाट देशको सेवा गर्ने इच्छा भएको हुनाले देशलाई गति दिनको लागि, दिशा निर्देश गर्नको लागि राजनीतिमा लागेकी हुँ ।’
राजनीति संवेदनशील र चुनौतीपूर्ण कर्म भएको समेत उनले बताइन् । राजनीति पेसा नभएको बताउँदै उनले राजनीतिलाई ‘पेसा’ बनाउन नहुने धारणा राखिन् । उनले भनिन्–‘राजनीति भनेको जो योग्य छ, जसले गर्न सक्छ, उसको योग्यता–क्षमता हेरेर छोटो समयका लागि गर्ने हो, त्यसपछि छाड्ने हो । त्यसैले राजनीतिलाई पेसा बनाउनु हुँदैन । राजनीतिलाई पेसा बनाएर पनि हामी धेरै बिग्रिएका छौँ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्