सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बोक्सी आरोपमा आमाकै अगाडी युवतीलाई डामियो

‘म आन्टीको घरमा बस्थेँ । उहाँकी सानी छोरी बिरामी भई । आइतबार राति आन्टीले आमालाई बोलाउनुभयो । आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्नुभयो । आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो । मैले हारगुहार गरेँ । आमाले पनि केही भन्नुभएन । मलाई कसैले बचाएनन् ।’

यो कुनै कथाकी पात्रको भनाइ होइन । सुर्खेत वीरेन्द्रनगर–२ की १८ वर्षीया अमृता बुढाको पीडा हो । बोक्सी आरोपमा आफन्तबाटै उनीमाथि मरणासन्न हुनेगरी कुटपीट भएको छ । शरीरभरी तातो पन्यूले डामिएको छ । अझ परिवारले नै यसको कानुनी उपचार खोज्न चाहेको छैन ।

एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको छ । पीडितकै आमा समेत ‘घरभित्रको कुरा मिलाउने पक्षमा’ छिन् । प्रहरीले कुटपीटमा संलग्न दुई जनालाई पक्रेको छ ।

अमृता सिलाइकटाइको तालिम लिइरहेकी थिइन् । उनी वीरेन्द्रनगर–७ इत्राममा रहेकी सानीआमा कृष्णा काफ्लेको घरमा बस्दै आएकी थिइन् । केही दिनअघि कृष्णाकी तीन वर्षीया छोरी बिरामी परिन् । अमृताले बोक्सी लगाएकै कारण छोरी बिरामी परेको भन्दै कृष्णाले उनलाई कुटेको र डामेको प्रहरीले जनाएको छ ।

तातो पन्यूँले डाम्दा अमृताको अनुहार, मुख, गोडा र ढाड पोलिएको छ । कृष्णाले आइतबार अमृताकी आमा टीका बुढालाई घरमा बोलाएर उनकै सम्मुख अमृतामाथि ज्यादती गरेकी थिइन् । घाइते छोरीलाई टीकाले चुपचाप घर लगिन् ।

छोरीको अवस्था गम्भीर देखेपछि बुबा लुन बुढाले सोमबार मात्र अमृतालाई अस्पताल भर्ना गरे । पाँच दिनको उपचारपछि अमृतालाई शुक्रबार डिस्चार्ज गरिएको छ ।

अस्पतालबाट निस्केपनि अमृता हिँडडुल गर्ने अवस्थामा छैनन् । शरीरको अधिकांश भाग पोलिएका कारण अमृता उठ्न र बस्न सक्दिनन् । घाउमा कपडा टाँसिएकाले उनी पीडा झेलिरहेकी छन् ।

घाइते अमृताले आफूमाथि अत्याचार भएको बताइन् । तर घटना आफन्तबीचको भएकाले मिलाउने कोशिस भइरहेको छ । ‘मेरैअगाडि छोरीमाथि कुटपीट भयो, मसान चढेको भन्दै बहिनीले कुटिन्,’ अमृताकी आमा टीका भन्छिन्, ‘तर यो घरभित्रको कुरा हो । अब यसलाई मिलाउनुपर्छ ।’

मिलाउने प्रयास भएकोमा अमृता चिन्तित छिन् । ‘मलाई न्याय चाहिएको छ,’ उनले दुःखेसो गरिन् ‘ममाथि यत्रो अत्याचार हुँदा पनि मिलाउन खोजिँदैछ ।’ कुटपिटमा संलग्न कृष्णा र उनका पति कृष्णप्रसाद काफ्लेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

‘हामीले दुई जनालाई पक्राउ गरेका छौं, बोक्सीको आरोपमा अमृतामाथि कुटपीट भएको पाइएको छ,’ डीएसपी प्रतापबहादुर क्षत्रीले भने, ‘उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । पीडित किशोरीलाई न्याय दिलाउन हामी प्रतिबद्ध छौं ।’

उनले परिवारभित्रको घटना भन्दैमा पीडितले न्याय नपाउने र दोषीमाथि कानुनी कारबाही नहुने अवस्था आउन नदिने उनले बताए ।उनले भने–‘कानुनी कारबाही अगाडि बढिसकेको छ, दोषीलाई कारबाही हुन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्