सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मानव तस्करीको आरोप लागेकी शेर्पा राजदुतबाट बर्खास्त

मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई राजदुतबाट हटाउने निर्णय गरेको हो ।

नेपालबाटै अष्ट्रेलिया लगिएका आफ्ना निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो । साथै छानविन समिति बनाएको थियो ।

राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए । राजदूत शेर्पाले भने यो दाबी खण्डन गरेकी थिइन् ।

पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की शेर्पा र उनका श्रीमानले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाएको वाङछु शेर्पाले आरोप लगाएका छन् ।

मन्त्रिपरिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई पनि हटाएको छ । मन्त्रिपरिषदले तीन वर्षे कार्यकालको एन ओ एम पास गरी रेग्मीलाई हटाएको र रिक्त पदमा गणेश अधिकारीलाई नियुक्त गरिएको स्रोतले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्