सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रहरीको कुटाईबाट पिसाबनली फुटेपछी आईसियुमा

प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्से सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ ।

पोखराको फेवासिटी अस्पतालको र्आइसीयूमा उनको उपचार भइरहेको बस्नेतकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । बस्नेतको पिसाब नली फुटेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ ।

स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निर्घात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सोमबार राति साढे ९ बजेको समयमा हटिया बजारमा बस्नेतसहित रहेका बिक्की गैरे, कृष्ण खत्री र प्रहरीबीच भनाभन भएपछि बिबाद कुटपिटमा परिणत भएको थियो ।

सांकेतिक तस्विर

बस्नेत, खत्री र गैरेले मदिरा सेवन गरेको र प्रहरीले सोधपुछ गर्ने क्रममा झगडा भएको प्रत्यक्षदर्शी बताउँछन् । प्रहरीको कुटपिटबाट घाइते कृष्ण खत्रीको अवस्था भने सामान्य छ । गैरेलाई भने केही नगरेको बताइएको छ ।

जनताको सुरक्षामा खटिएका प्रहरीबाटै निर्घात कुटपिटको घटना गम्भीर विषय भएकाले घटनामा संलग्नलाई तत्काल कारबाही गर्नुपर्ने घाइते बस्नेतकी श्रीमती कृष्णकुमारीले बताइन् ।

‘जो रक्षक उही भक्षक भने जस्तो भयो, हो उहाँहरूले मदिरा पिएकाले केही गल्ती कमजोरी भएको होला,’ उनले भनिन्, ‘त्यसको समाधान र सजाय पिटेर होइन, सम्झाइबुझाइ गरेर पठाउने या नियम अनुसार चौकीमा लग्न सकिन्थ्यो ।’

कुटपिटमा संलग्न रहेको आरोप लागेका प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा तानिएको प्रहरी निरीक्षक केशवसिहं थापाले बताएका छन् । रक्सि खाएको निउँमा मुत्रनली फुट्नेगरी कुट्ने प्रहरीलाई के अर्को चौकीमा सरुवा गर्नु नै कारबाही हो ?

फेसबुकबाट कमेन्ट गर्नुहोस्