ठकुरीको हत्यारालाई पक्राउ गर्न प्रहरीले गोली चलायो
गत माघ २६ गते बाँकेको कोहलपुरमा सुर्खेतका दिपक सिंह ठकुरीको घाँटी रेटि हत्या गरिएको घटनामा संलग्नलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको घाँटी रेटि बिभत्स हत्या भएको थियो ।
दिपक सिंह ठकुरीको शव भेटेपछि प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचालन गरी अनुसन्धान अघि बढाएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो । पक्राउ परेका शाहीबाट घटनामा युवराज गिरीको संलग्नता खुलेपछी उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनु परेको थियो ।
पक्राउ परेका भरत शाहीले दिएको बयानका आधारमा अभियुक्त गिरीलाई खोज्दै हिँडेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग उनको बर्दियामा जम्काभेट भएको थियो । र, भाग्न खोजेपछि प्रहरीले गिरीमाथी गोली चलाएको हो ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/yubaraj-giri-murderer-of-dipaksingh-thakuri-1024x669.jpg)
प्रदेश ५ का प्रहरी कार्यालयका प्रमुख डीआईजी पिताम्बर अधिकारीले उनको खुट्टामा गोली लागेको बताएका छन् । उनले भनेका छन्–‘पक्राउ गर्ने क्रममा उनले आक्रामक गतिविधि गरेपछि गोली चलाउन परेको हो । तर, उनको अवस्था सामान्य छ । उपचारका लागि कोहलपुर टिचिङ हस्पिटल पठाएका छौं ।’
प्रहरीले दिपक सिंह ठकुरीको बिभत्स हत्या भएको ६ दिनपछि प्रहरीले घटनामा संलग्न दुबै जनालाई पक्राउ गरेको छ । प्रहरीमा भर्ना हुन आएका ठकुरीलाई यी दुइ जनाले जागिर लगाइदिने भन्दै डेढ लाख लिएका थिए । भर्ना गर्न सक्ने अवस्था नभएको र पैसा पचाउन ठकुरीलाई उनीहरुले हत्या गरेको डिआइजी पिताम्बर अधिकारीले जानकारी दिएका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/deepaksingh-thakuri-murder-in-kohalpur-1024x697.jpg)
उनीहरुले हत्या गरिएका ठकुरीलाई बोलाएर योजना बनाएर नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । २ जना पक्राउ परेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्