निर्मला पन्तको परिवार राहतको किचलोमा अल्झियो
छोरी वियोगको पीडासँगै न्यायको भिख मागिरहेकी दुर्गादेवी पन्तलाई चोटमाथि चोट थपिएको छ । अचेल उनलाई श्रीमान यज्ञराजले दिनहुँजसो थप तनाव दिन्छन् । वर्षौदेखि बोलचालै बन्द गरी छुट्टिएर बसेका यज्ञराजले पछिल्लो समय पटक–पटक दुर्गादेवीमाथि कुटपिट गरिरहेका छन् ।
अहिले उनीहरुबीच विवाद बढ्नुको मूल कारण होः सरकारले राहत स्वरुप दिने भनेको १८ लाख रुपैयाँ । वियोगको पीडा त छँदै छ, सरकारले दिने राहत रकम चाहिँ किन गुमाउनु ? भन्ने चाहन्छिन्, दुर्गादेवी । तर, राहत रकम सबै निर्मलाकी आमाले लैजालिन् र कान्छी श्रीमती अर्थात् निर्मलाकी सौतेनी आमा रिसाउलिन् भन्ने पिर छ, यज्ञराजलाई ।
अचेल ‘यज्ञराज आक्रामक हुनुको कारणः छोरीको न्यायका लागि होइन, राहत रकमको बाँडफाँटको विषयले हो’ भन्न थालिएको छ । दिन प्रतिदिन परिवारको स्थिति नाजुक हुँदै गएकोप्रति दुर्गादेवी निकै चिन्तित छिन् । न्याय पनि नपाउने, राहत पनि गुम्ने त होइन ? भन्ने चिन्ता छ, दुर्गादेवीलाई ।
राहत रकमको विषय मात्रै होइन, निर्मलाका बलात्कारी एवम् हत्यारा पत्ता लगाउन प्रहरीले यज्ञराज र दुर्गादेवीको डिएनए परीक्षण गर्न खोज्यो । निर्मलाको तर्फबाट लिइएको नमूनामै शंका भएपछि प्रहरीले बा र आमाको नमूनाबाट डिएनएको क्रस चेक गर्न खोजेको थियो ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/mom-and-dad-of-nirmala-panta-1024x688.jpg)
तर, त्यसका लागि यज्ञराजले रगत दिन मानेनन् । छोरीको हत्यारा पत्ता लाग्ने आशंकाका कारण दुर्गादेवीले डिएनए परीक्षणका लागि नमूना रगत दिइन् । जुन कुरा यज्ञराजलाई मन परेन र दुर्गादेवीमाथि कुटपिट गरे । जसका कारण दुर्गादेवी अहिले विक्षिप्त छिन् ।
यज्ञराजले डिएनए परीक्षणका लागि रगत दिन नमान्नुको कारणबारे अनेक शंका उब्जिएको छ । र, घटनालाई थप रहस्यमयी एवम् शंकास्पद बनाएको छ । यज्ञराज र दुर्गादेवीबीच खटपट भएको यो पहिलोचोटि होइन । सम्बन्ध सुमधुर नभएपछि नै यज्ञराजले दोस्रो बिहे गरेका हुन् ।
दुर्गादेवीका तर्फबाट तीन सन्तान थिए । तीमध्येकी एक हुन्, निर्मला पन्त । बाआमाको विवादले छोरीहरु पहिल्यैदेखि तनावमा थिए । कठिन अवस्थामा पनि बुबाले वास्ता नगरेका कारण सन्तान पीडामा थिए । र, अहिले बाँचेका सन्तानमा पनि पीडा थपिएको छ ।
तर यज्ञराज भने दुर्गादेवीको कुरा पत्याउन तयार छैनन् । न्याय नपाए राहत मात्रै लिएर के गर्नु ? भनेर सामान्य गाली मात्रै गरेको उनको भनाई छ । दुर्गादेवीले परिवारमा सल्लाह नै नगरी अरुको उक्साहटमा लागेर राहत लिन लागेकोप्रति यज्ञराज आक्रोशित छन् ।
![](https://everestwall.com/wp-content/uploads/2018/09/ygyaraj-panta-dad-of-nirmala-panta.jpg)
यससँगै निर्मलाकी सौतेनी आमा लक्ष्मी पन्त पनि अरुको उक्साहटमा दुर्गादेवी अघि बढेकोले समस्या भएको बताउँछिन् । करिब ७ महिना भयो, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको । निर्मला हत्या प्रकरणले देशव्यापी चर्चा पायो ।
सडकदेखि सदनसम्म हत्यारा पत्ता लगाएर कारबाहीको माग भयो । तर, अँझै तत्काल हत्यारा पत्ता लाग्ने छाँट छैन । तर, निर्मलाका बा–आमाबीच राहत रकम लिने÷नलिने विषयमा चर्को विवाद हुनु, आपसमा कुटाकुट हुनु निकै दुखद कुरा हो ।
त्यस्तै, प्रहरीले छोरीको हत्यारा पत्ता लगाउन डिएनए परीक्षणका लागि नमूना रगत दिन आग्रह गर्दा बुबा यज्ञराजले आनाकानी गर्नु स्वभाविक छैन । यसले घटनालाई रहस्यमयी र शंकास्पद बनाएको छ ।
![](https://everestwall.com/wp-content/uploads/2018/10/nirmala-panta-kanchanpur-kanda-1024x775.jpg)
निर्मलाको बलात्कारपछि हत्या भएको ६ महिनाको अवधिमा निकै उत्तारचढाव भयो । हत्यारा पत्ता लाग्नु त कता हो कता ? पछिल्लो समय निर्मलाको घरभित्रै कलह बढेको छ । निर्मलाको हत्या भएको दिनदेखि विकसित घटनाक्रम यस्तो छः
साउन १०ः बलात्कारपछि हत्या
१० गते निर्मलाको बलात्कारपछि हत्या भयो । साथीको घरमा पढ्नका लागि भन्दै गएकी निर्मलाको बलात्कारपछि हत्या भएको हो ।
साउन ११ः शव भेटियो
घरभन्दा अलि परको उखुबारीमा निर्मलाको शव भेटियो । चोट लागेको र अर्धनग्न स्थितिमा शव फेला परेको थियो ।
साउन १४ः अनुसन्धानका लागि सिआईबीको टोली परिचालन
बलात्कारपछि हत्या भएको प्रमाणित भएपछि साउन १४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोली घटनाको अनुसन्धानका परिचालन भयो ।
भदौ ४ः दिलिपसिंह विष्ट सार्वजनिक
घटना भएको २५ दिनपछि अर्थात् भदौ ४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सिआईबीको टोलीले दोषी भन्दै स्थानीय दिलिपसिंह विष्टलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।
भदौ ५ः आन्दोलन चर्कियो
मानसिक सन्तुलन गुमेका दिलिपसिंह विष्टलाई प्रहरीले जबरजस्त दोषी करार गर्न खोजेको भन्दै स्थानीय आन्दोलनमा उत्रिए । आन्दोलन उग्र बन्दै गयो ।
भदौ ६ः एसपी विष्ट र सिडियोको सरुवा
स्थानीयको आन्दोलन प्रहरी केन्द्रित हुन थालेपछि कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट, तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार खड्का र जिल्ला प्रहरी कार्यालयका तत्कालिन असई ज्ञानबहादुर सेठिको सरुवा भयो ।
भदौं ७ः छानबिन समिति गठन
घटनामा प्रहरीकै भूमिका शंकास्पद देखिएपछि भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्सीय छानबिन समित गठन भयो । अनुसन्धानकै क्रममा समिति संयोजकले राजीनामा घोषणा गरे । पछि फेरि काममा फर्किए ।
भदौं ८ः शनी खुनाको मृत्यु
छानबिन समिति गठन भए पनि स्थानीयले आन्दोलन रोकेका थिएनन् । भदौ ८ गते झन् ठूलो प्रदर्शन भयो । प्रहरीले चलाएको गोली लागेर १६ वर्षीय शनी खुनाको मृत्यु भयो । दर्जनौं घाइते भए ।
भदौ ९ः एसपी विष्ट निलम्बित
भदौ ९ गते गृहमन्त्रालयको निर्देशनमा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट निलम्बनमा परे । कञ्चनपरमा अर्का एसपी पठाइयो ।
भदौ २६ः दिलिपसिंह विष्ट रिहा
प्रहरीले सार्वजनिक गरेका विष्ट दोषी नभएको भन्दै जनमानस उर्लिएपछि विष्टको डिएनए परीक्षण भयो । डिएनए नमिलेपछि भदौ २६ गते रिहा गरियो । एसपी विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको पनि डिएनए परीक्षण भयो । तर, मिलेन ।
भदौ ३०ः पाँच प्रहरी निलम्बित
गृहमन्त्रालयले पठाएको छानबिन समितिको प्रारम्भिक प्रतिबेदनको आधारमा पाँच प्रहरीः ज्ञानबहादुर सेठी, अंगुर जिसी, जगदिश भट्ट, एकेन्द्र खड्का र रामसिंह धामी निलम्बित भए ।
असोज ९ः छानबिन समितिले अन्तिम प्रतिवेदन बुझायो
छानविन समितिले असोज ९ गते गृहमन्त्रीलाई अन्तिम प्रतिवेदन बुझायो । उक्त प्रतिवेदन असोज २१ गते सार्वजनिक भयो । प्रतिवेदनमा अनुसन्धानका क्रममा प्रहरीले नै लापरबाही गरेको उल्लेख छ ।
कात्तिक ८ः एसपी विष्ट बर्खास्त
अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालिन एसपी डिल्लीराज विष्ट र ईन्स्पेक्टर जगदिश भट्ट सेवाबाट बर्खास्त भए ।
कात्तिक २५ः निर्मलाका बाआमा धर्नामा
छोरीको बलात्कारपछि हत्या भएको साडे तीन महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकेपछि निर्मलाका बाआमा अनिश्चितकालिन धर्नामा बसे ।
मंसिर ७: निर्मलाका बुबामा मानसिक समस्या
धर्ना बसेकै ठाउँमा निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्यस्थिति बिग्रियो ।
मंसिर १२: पोस्टर अभियान सुरु
सरकार भेटियो न्याय भेटिएन लेखिएको पोस्टर चौतर्फी चर्चा पिट्यो । र, अहिले सरकारी राहत रकम लिने–नलिने र निर्मलाकी आमाले डिएनए परीक्षणका लागि नमूना रगत दिएका कारण बढेको पारिवारिक विवाद चर्चामा छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्