सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पखालाको बिरामीलाई म्याद गुज्रेको स्लाइनपानी !

सर्लाही जिल्ला अस्पताल मंलगवाका चिकित्सकले बिरामीको उपचारमा चरम लापरवाही गरेको तथ्य बाहिर आएको छ । पखाला लागेर अस्पताल भर्ना भएकी मलंगवा–३ की ४५ वर्षीया उषा देवीलाई म्याद गुज्रेको ‘आर एल स्लाइन’ पानी दिएको भेटिएको हो ।

उषासहित उपचारका लागि अस्पताल पुगेका अन्य तीनजनालाई चिकित्सकले म्याद गुज्रेकै स्लाइन पानी दिएको फेला परेको छ । ‘पेट दुखेर आमा बिरामी हुनुभयो । पखाला लागेपछि हामीले अस्पताल लगेर भर्ना गरायौं,’ उषाका छोरा साजन चौधरीले भने,’ अस्पतालले उहाँलाई भर्ना गरेर स्लाइन पानी चढाउन सुरु र्गयो । नजिकै गएर हेर्दा डेट एक्स्पायर स्लाइन पानी रहेछ । आधा बोत्तल चढिसकेको थियो ।’

तीन महिना पहिले पनि म्याद गुज्रेका स्लाइन पानी बिरामीलाई दिएको बारे समाचार बाहिर आएको थियो । पछि आफूले त्यसलाई तुरुन्त रोक्न लगाएको उनले बताए । सन् २०१८ अक्टुबर अन्तिमसम्म म्याद रहेको स्लाइन पानी उषाको उपचारमा प्रयोग गरिँदै थियो ।

उषा देवीलाई दिएको म्याद गुज्रेको स्लाइनपानी । तस्बिर : सुनिल ठाकुर

म्याद गुज्रेको स्लाइन पानी दिएको थाहा पाएपछि परिवारले उनलाई तुरुन्तै निजी अस्पतालमा भर्ना गराएका थिए । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा यस्तो ठूलो लापरवाही हुनु दुःखद भएको पीडित परिवारले जनाएका छन् । उपचारमा संलग्न चिकित्सक र औषधि दिने व्यक्तिलाई कानुनअनुसार कारवाही हुनुपर्ने माग पीडित परिवारको छ ।

५० शैयाको जिल्ला अस्पताल मंलगवामा विशेष गरी गरिब तथा विपन्न समुदायका बिरामी आउने गर्छन् । सरकारी अस्पतालमा राम्रो उपचार नहुने भन्दै आर्थिक अवस्था बलिया भएकाहरु निजी अस्पताल रोज्छन् ।

तर, गरिब बिरामी पर्दा उपचारका लागि मंलगवा अस्पताल पुग्छन् । अस्पतालको यस्तो लापरवाहीले बिरामी त्रसित भएका छन् । अस्पतालमा दैनिक ७० देखि १ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन् ।

स्टोरमा म्याद भएको र गुज्रेको औषधि एकै ठाउँमा छ्यासमिस गरेर राखिएको छ । हतारमा झिक्दा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको सुपरिटेन्डेन्ट बीरेन्द्रकुमार मण्डलले बताएका छन् । सबैलाई एकैपटक उपचार गर्न खोज्दा हतारमा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको मण्डलले बताएका छन् ।

‘घटनाबारे सोधपुछ गर्ने काम हुँदैछ,’ मण्डलले भने, ‘गल्ती गरेको भेटिए कारबाही हुन्छ ।’ उषाको उपचारमा कुन चिकित्सक संलग्न थिए भन्ने कुरा खुलेको छैन । सुपरिटेन्डेन्टले छानविनपछि चिकित्सको नाम आउने जनाएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्