सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिकार खेल्न जाँदा बन्दुक पड्किएर साथीको मृत्यु

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ इखाबुमा सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । डिँडिरहेको अवस्थामा साथीले बोकेको बन्दुक एक्कासी पड्किँदा लागेको गोलीले सोही वडाका ३७ वर्षीय देवीकुमार लिम्बुको मााघ १ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुक बोक्ने सुरेन्द्र तामाङ पक्राउ परेका छन् । बन्दुकसहित पक्राउ परेका तामाङलाई शुक्रबार जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले बताए ।

प्रहरी प्रमुख थापाका अनुसार दुवैजना माघे सक्रान्तिका दिन मानाभरा हिमालको फेदीमा सिकार खेल्न गएका थिए । ‘लोड गरेको बन्दुक पड्किँदा छर्राले लागेर घटनास्थलमै देवीकुमारको मृत्यु भएको हो,’ थापाले भने, ‘तामाङले बोकेको बन्दुक हातबाट खुस्किएर ढुंगामा ठोक्किँदा पड्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्